पछिल्लोपटक घरमा म आफ्ना अनेक कहानीहरूमा हराउँदै थिएँ । म आफ्नै पात्रहरूका हाउभाउ देखाउन थालेको थिएँ। आखिर शरीर नर्कमा भए पनि दिमाग र चेतनालाई स्वर्गमा पुर्याउने आफ्नो अभिष्ट हो। यथार्थ तितो भए तापनि मलाई कल्पना गुलियो लाग्छ।
मुलुकको दुरुह अवस्था, घीनलाग्दो राजनीति र अधोगति लागेको चेतना - मेरा लागि यसभन्दा घोर नर्क अर्को थिएन। एकातिर माओवादी द्वन्द्वले बलात्कार गरेको दिमाग, अनि अर्कातिर त्यसैबेला बारुदले छिन्नभिन्न भएको मुटु बोकेर अब हामी अहिले यो घोर कोलाहलग्रस्त राजनीतिक आगोले पिल्सिएका छौँ। अब फोका उठे शरीर भरी। जलन अत्यधिक छ। ओखती छैन।
कहाँ जाने? कहाँ पुग्ने? केही पनि थाहा छैन!
अनि कालो स्वैरकल्पनामा हराउनुको अर्को विकल्प थिएन। अनेक शुक्ष्म प्रक्षेपणका सफल प्रयोगहरू पश्चात अचानक एउटा स्थूल यात्रा भयो। जुन मेरो जिन्दगीको एक निर्णायक यात्रा थियो। उता क्याथी आउने कुराले पनि म निकै उत्साहित थिएँ। यसपाली उसका र मेरा बिचका सारा युद्धहरू मत्थर गर्नुपर्ने अनिवार्यता दुवै पक्षलाई टड्कारो देखिन्थ्यो। किनभने, युद्धरत दुवै पक्ष थाकेका, गलेका र शिथिल देखिन्थे। जिन्दगीको रसस्वादन ठीकसँग गर्न नपाएर उनीहरू एक किसिमले कुपोषणग्रस्त पनि हुन पुगेका थिए। यो धेरै कोणबाट उही पुरानै ‘नाजी भर्सेस यहुदी’ युद्ध नै नजर आइरहेको थियो।