फर्केर कुखुरा फार्म खोले, आफू व्यवसायी बने अरूलाई दिए रोजगारी
सानैमा माटोसँग लडीबडी गर्न खुब रमाउँथे डम्मर धामी। गाउँघरको जिन्दगीमा माटोसँग नखेली दिन काट्न सकिन्न। ठूलो हुँदै गएपछि उनले खेतीपातीमा आमाबुवालाई सघाउनुपर्यो। उनलाई रमाइलै लाग्थ्यो।
उनले सानैदेखि ठूलो भएपछि झन् धेरै खेतिपाती गर्ने सपना देखेका थिए।
धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँका ३५ वर्षीय डम्मरको पुर्खौली घर बैतडीको सिगास गाउँपालिका हो। एसएलसी दिएपछि उनी क्याम्पस पढ्न २०५८ मा धनगढी झरेका थिए। कैलाली बहुमुखी क्याम्पस भर्ना भए।
कोठा भाडामा लगेर पढ्न थालेको दुई वर्षपछि जमिन जोरजाम गरेर उनका दाइले धनगढीको कैलाली गाउँमा घर बनाए। पछि उनी पनि दाइहरूसँगै बसेर पढ्न थाले।
स्नातक तहसम्म लगातार पढे। त्यसपछि भने उनले धनगढीमै रहेको एउटा कम्पनीमा काम गरे। त्यहाँ उनले सुरूमा २५ सयमा रुपैयाँ तलबमा काम गरेका थिए। त्यही कम्पनीमा उनले तीन वर्ष बिताए।
कम्पनीको काम छुटेपछि उनले पाँच जना साथीसँग मिलेर गाउँमै बोर्डिङ स्कुल खोले। उनको बोर्डिङमा नर्सरीदेखि पाँच कक्षासम्म पढाइ हुन्थ्यो।
उनी आफैं बोर्डिङ सञ्चालक थिए, विद्यार्थीलाई पढाउँथे पनि।
डम्मरले बोर्डिङ चलाउँदै, मास्टर पढेर भ्याए। स्कुललाई ८ कक्षासम्म पुर्याएपछि भने लगानी थप्न नसकेर बेच्नु परेको उनले सुनाए।