महामारीमा बालबालिकाको नियमित खोप छुट्यो, मृत्यु र अपांग हुने दर बढ्ने चेतावनी

अनलाइनखबर

सागर बुढाथोकी

कोभिड–१९ को महामारीको कारण सन् २०२० मा विभिन्न रोगविरुद्ध बालबालिकालाई दिइने खोपको ‘कभरेज’ दर घटेको छ । जसको कारण दीर्घकालीन रूपमा विभिन्न संक्रामक रोगको संक्रमण, मृत्युदर र अपांग हुने दर बढ्ने चेतावनी विज्ञहरूले दिएका छन् ।

यस बीचमा अधिकांश स्रोत, व्यक्ति र स्वास्थ्य प्रणाली कोभिड–१९ विरुद्धको काममा केन्द्रित भएकाले बाल्यावस्थामा दिइने खोप सेवामा उल्लेखनीय अवरोध भएको छ । महामारीको बेला खोप केन्द्रहरू बन्द भएका र सञ्चालन हुने समयावधि कम गरिएकाले पनि कभरेज दर घटेको विज्ञहरू बताउँछन् । त्यसैगरी कोभिड–१९ को संक्रमण हुने डर, निषेधाज्ञा र यातायात बन्दका कारण मानिसहरू स्वास्थ्य सेवा लिन हिचकिचाएको पनि विज्ञहरूको भनाइ छ ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाका प्रमुख डा.झलक गौतम नेपालमा वर्षेनि एक वर्षभन्दा मुनिका ६ लाख २० हजार बालबालिकालाई १२ वटा रोग विरुद्ध नियमित खोप दिइने बताउँछन् । सन् २०१९ मा एक वर्षमुनिका ५ लाख ३७ हजार बालबालिकाले उक्त खोप लगाएका थिए । सन् २०२० मा खोप लगाउने बालबालिकाको सङ्ख्या घटेर ४ लाख ८३ हजार मात्र भयो । यो तथ्यले कोरोना महामारीको बेला खोपको कभरेज दर घटेको देखाउँछ ।

‘लकडाउनको शुरूआती महीनामा खोप केन्द्र बन्द भए तापनि पछि हामीले सबै खोप केन्द्र खुलाउन परिपत्र गरेका थियौं तर महामारीको डर तथा यातायातको असुविधाले धेरै आमाहरू खोप केन्द्रसम्म पुग्न सकेनन्’ खोप महाशाखाका प्रमुख डा. गौतम भन्छन् ।

प्रकाशित मिति: : 2021-08-23 10:52:00

प्रतिकृया दिनुहोस्