बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले भने- 'आवश्यक परे तालिबानसँग मिलेर काम गर्नेछाैँ'

Photo : AP
Photo : AP

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले तालिबानीसँग पनि मिलेर काम गर्ने बताएका छन्।

उनले भने, 'म सबै जनतालाई के कुराको विश्वास दिलाउन चाहन्छु भने हामीले आवश्यक परेमा तालिबानसँग पनि मिलेर काम गर्न सक्छौँ, हाम्रो राजनीतिक तथा कूटनीतिक प्रयास भनेको हामीले अफगानिस्तानको समस्याको समाधान खोज्ने हो र हामी त्यसका लागि लागि परेका पनि छौँ।'

यदि अफगानिस्तानमा शान्तिको स्थापना हुने र देशकाे अवस्थामा सुधार हुनसक्ने भएमा तालिबानी समूहसँग पनि मिलेर काम गर्न सकिनेमा उनले जाेड  दिए।

प्रधानमन्त्री जोन्सनले अफगानिस्तानको विमानस्थलमा आफ्नो देश फर्किन चाहने नागरिकको भीडभाड हट्दै गएको र तालिबानीले पनि यसमा सामान्यतया अवरोध नगरेको देखिएकोसमेत बताए।

तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेर राजधानी काबुलसमेत कब्जा गरिसकेका छन्। यसैबीच यति चाँडै तालिबानहरूले सत्ता कब्जा गर्लान भनेर अनुमान नगरिएको पनि उनले बताए।

तालिबानको तीव्र विस्तारका बाबजुद पनि स्वयं अफगान सेनाले नै आफ्ना देशका विरुद्धमा लड्न नचाहेको या नसकेको भन्ने बारेमा पनि अहिले विश्वव्यापी बहस भइरहेको छ।

हाल विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता गरिरहेका छन्। यसै क्रममा बेलायतले पनि गएको आइतबार यता कम्तीमा दुई हजार आफ्ना नागरिकलाई फिर्ता लगिसकेको जनाएको छ।
 

प्रकाशित मिति: : 2021-08-21 17:11:00

प्रतिकृया दिनुहोस्