‘कसैलाई धोका दिएकी छैन, कसैको पक्षमा गएकी छैन’

हिमाल खबर

सरिता दाहाल

घरबाट भागेर २०३६ सालमा राजनीतिमा लागेकी नेकपा (एमाले) नेत्री अष्टलक्ष्मी शाक्य २ भदौमा बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी छन्। उनी २०७४ सालको प्रदेश सभा निर्वाचनमा काठमाडौं ८ ‘क’ बाट निर्वाचित भएकी थिइन्।

एमाले बागमती प्रदेशको इन्चार्ज समेत रहेकी शाक्य गुटगत आन्तरिक संघर्षका कारण त्यति वेला मुख्यमन्त्री बन्न सकिनन्। अहिले एमाले विभाजन भएको वेला उनी मुख्यमन्त्री बनेकी छन्।

नवौं महाधिवेशनमा माधवकुमार नेपाल समूहबाट उपाध्यक्ष जितेकी शाक्य यति वेला भने अध्यक्ष केपी शर्मा ओली पक्षमा उभिएकी छिन्। नेपालले २ भदौमा नयाँ पार्टी गठन गरेसँगै ओलीले डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर शाक्यलाई मुख्यमन्त्री बनाएका हुन्।

अब नेपाल पक्षले साथ नदिंदा उनको मुख्यमन्त्री पद जोगिने देखिंदैन। उनी भने सबैको साथ पाएर नै मुख्यमन्त्री बनेको बताउँछिन्। मुख्यमन्त्री शाक्यसँग सरिता दाहालले गरेको कुराकानी :

नेकपा (एमाले) विभाजन भएको र निर्वाचन नजिकिंदै गरेको वेला छोटो समयका लागि मुख्यमन्त्री बन्नुभएको छ। कसरी अघि बढ्ने योजना छ?

छोटो समयकै लागि भन्नुपर्‍यो, १६ महिना जति मात्रै बाँकी छ। यसमा पनि केही चुनौती र केही अवसरहरू देखेकी छु। पहिलो, बजेट नै हो। यसअघिको बजेटबाट भएका राम्रो कामको समीक्षा गर्छाैं। बजेट तथा कार्यक्रममा आवश्यकता र विगतको कार्यान्वयनको पाटो हेर्नु छ। त्यसपछि काम शुरू गर्छौं।

बागमती प्रदेशका सबै जिल्ला अत्यन्तै सम्भाव्यता बोकेका छन्। मैले पटक-पटक भन्ने गरेकी छु, यहाँको जीवन दुःखमा बस्नुपर्ने खालको छैन, हामीले आँट गरेर योजनाहरू बनाउने र कार्यान्वयनमा ल्याउने हो भने कोही पनि अभाव र समस्यामा बस्नुपर्ने छैन। अवसर नै अवसर भएको यो प्रदेशमा सबैको साथ चाहिन्छ, धेरै काम गर्न सकिन्छ। जनता र प्रदेशका लागि काम गर्छु।

अहिले हाम्रो ध्यान कोभिड-१९ नियन्त्रणमै छ। खोपको अपर्याप्तता छ, केही अव्यवस्थालाई व्यवस्थित गर्नुपर्छ। यस्तै, बाढीपीडितको अवस्थाप्रति पनि ध्यान दिनुपर्छ। सरकारले केही गर्ला भन्ने आशा बोकेर बस्नुभएको छ। उहाँहरूका लागि केही गर्नुपर्छ। बाढीपीडितको जहाँ-जहाँ समस्या छ, त्यहाँ ध्यान दिनेछु। अर्को, सुशासन कायम गर्नुपर्नेछ। भ्रष्टाचार, अनियमितता विरुद्धको लडाँइ छ। विकास निर्माणका नियमित योजना त छँदै छन्।
 

प्रकाशित मिति: : 2021-08-21 06:36:00

प्रतिकृया दिनुहोस्