कापी–कलम किन्ने पैसा नभएपछि एक बालकको मस्तिस्कमा भगवान गुहार्ने योजना फुर्यो। उनले १० रुपैयाँ माग्दै भगवानका नाममा चिट्ठी लेखे, राजालाई भगवान ठान्ने हुलाकका एक कर्मचारीले उक्त पत्र दरबार पठाइदिए । राजाले आफ्ना अर्थमन्त्रीलाई रकम निकासा गर्न आदेश दिए, मन्त्रीले ५ रुपैयाँ आफैंसँग राखेर बाँकी ५ रुपैयाँ पठाइदिए, ५ रुपैयाँ बोकेर बालकको घरमा गएका कर्मचारीले बाँकी ३ रुपैयाँ खाइदिए । अन्त्यमा, बालकको हातमा २ रुपैयाँमात्रै पर्यो ।
घोटाला गर्नेहरुसँग दिक्दार भएका ती बालकले अर्को चिट्ठी लेखे : भगवान, तपाईलाई धन्यवाद, तर तपाईले मेरा लागि पठाएको पैसा खाने राजा र उनका कर्मचारीको कहिल्यै भलो नहोस् ।’ पत्र पढेर राजा खिन्न भए । तर, जनतामाझ अलोकप्रिय राजाको सत्ता ती घुस्याहाकै भरमा टिकेको थियो, उनले केही सुधार गर्नेवाला थिएनन् ।
प्रसङ्गलाई अफगानिस्तानसँग जोडौं, जहाँको सरकार यस्तै घुस्याहा थियो । त्यहीकारण अमेरिकी सैनिकहरुको बर्हिगमनले पूर्णता पाउनुअगावै ढल्यो ।
अमेरिकी सेना फर्किएपछि ढिलो–चाँडो यो सरकार ढल्छ भन्ने सबैलाई थाहा थियो, तर यति चाडैं अफगानी सैनिकहरु लाचार होलान् भन्ने अनुमान सत्ता कब्जा गर्ने तालिबानी विद्रोहीसमेतको थिएन ।
अफगानिस्तानमा अमेरिकाले झन्डै २ दशमलव ३ ट्रिलियन डलर खर्च गर्यो । अन्य विदेशी निकायहरुले पनि यहाँ ठूलो रकम खन्याएका थिए । यसमध्ये २००२ मा अफगानिस्तानलाई दिइएको विकास सहयोग १.३ बिलियन डलर थियो, २०१८ मा आइपुग्दा यो बढेर ७.९ बिलियन डलर पुग्यो । तर, आमजनताको जीवनस्तरमा दिनानुदिन बिग्रदैं थियो । जनताका नाममा आउने सहयोग रकमको ठूलो हिस्सा अन्तर्राष्ट्रिय एजेन्सी, एनजीओ/आईएनजीओे र ठेकेदारहरुको कमिशनमै खर्च हुने गरेको थियो । बाँकी रकममा घुस्याहा कर्मचारी, आपराधिक गिरोह, माफियाको ठूलो चलखेल भयो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सुचना संकलनको नाममा युद्ध सरदार, गर्भनर,सांसद् र धार्मिक नेताहरुलाई पनि सीआईएले रकम बाँड्ने गरेको थियो ।