दल विभाजनसम्बन्धी अध्यादेशको मस्यौदा तयार : एकचौथाइ सदस्यले नै पार्टी फुटाउन सक्ने

नेपाल खबर

काठमाडौं

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहित सत्ता गठबन्धनले दल विभाजनसम्बन्धी अध्यादेशको मस्यौदा तयार पारेका छन्।

सरकारले केही दिनभित्रै ल्याउन लागेको उक्त अध्यादेशको मस्यौदा अनुसार अब दल विभाजन गरेर नयाँ दल खोल्न पार्टीको केन्द्रीय कमिटी या संसदीय दल मध्ये एउटामा एक चौथाई अर्थात् २५ प्रतिशत संख्या भए पुग्छ। 

आइतबार राति प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस, माओवादी र एमालेका नेपालसहितको शीर्ष नेताहरूको बैठकले यो मस्यौदा तयार पारेको हो। आइतबार  नै एमाले नेता नेपालले सरकारमा सहभागी हुन सहमति जनाएका छन्। 

‘हिजो साँझ बल्ल माधवजीले अब हामी सरकारमा सहभागी हुन्छौं कसरी मिलाउने हो मिलाऔँ भन्नुभयो,’ बैठकमा सहभागी एक नेताले नेपालखबरसित भने,‘त्यसपछि राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने र सोमबारदेखि नै संसद अधिवेशन अन्त्य गर्ने सहमति भएको हो।’

सत्ताधारी गठबन्धन पहिलेदेखि नै नेता नेपाललाई सहज हुने गरि अघि बढ्ने नीतिमा थियो। त्यसैले नेपालकै कारण सरकार बनेको  महिना दिन पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।

नेता नेपालले सकेसम्म संसद या केन्द्रीय कमिटी मध्ये एउटामा ४० प्रतिशत पु¥याएर नयाँ पार्टी खोल्ने तयारी गरेका थिए।

प्रकाशित मिति: : 2021-08-17 08:05:00

प्रतिकृया दिनुहोस्