गुम्बाडाँडाको आकर्षण ढुंगामा कला

हिमाल खबर

सरिता दाहाल

नौ वर्षअघि अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशालामा विभिन्न देशका २३ कलाकारले बनाएका ढुंगाका मूर्ति अहिले भने हेटौंडाको गुम्बाडाँडा मूर्ति पार्कका आकर्षण बनेका छन्।

ढुंगा मूर्तिले सजिएको मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१८ हर्नामाडीस्थित गुम्बाडाँडा सामुदायिक वनमा निर्माणाधिन मूर्ति पार्क नयाँ पर्यटकीय गन्तव्य बनेको छ।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, पर्यापर्यटकीय पार्क गुम्बाडाँडा र समसामयिक नेपाली मूर्तिकार समूह (आरम्भ) ले ११ देखि २३ मंसिर, २०६९ मा अन्तर्राष्ट्रिय मूर्तिकला कार्यशाला आयोजना गरेको थियो। त्यसमा सहभागी विभिन्न देशका कलाकारले मूर्ति बनाएका थिए। तिनै मूर्ति पार्कमा राखिएका हुन्।

झण्डै ४० लाख खर्चेर ललितकला अनुसन्धान स्थलको रुपमा विकास गर्ने उद्देश्यले पार्क निर्माण गरिएको हो। अझै पार्क निर्माणाधिन छ। तैपनि, ६ देशका २३ कलाकार २३ कलाकृतिले पार्कको सौन्दर्य बढेको छ। यहाँ राखिएका सबै मूर्ति ढुंगामा कुदिएका हुन्।

जसमा प्रकृतिका अनेक रुप देख्न सकिन्छ। इटालीका मूर्तिकार बेटीनो फ्रान्सिनीले संसारकै सबैभन्दा पहिलो आमाको परिकल्पनालाई ढुंगामा उतारेका छन्। यसलाई मूर्तिपार्कको मध्यभागमा राखिएको छ।

दक्षिण कोरियाका मूर्तिकार शीम जुम शुले औद्योगिक वातावरणको परिकल्पना गरेका छन्। ढुंगामा कुदिएको उनको परिकल्पनाले सबैलाई मोहित बनाउछ। जापानका मूर्तिकार सूगीमोतो जुन युचिरोले भटमासको कोसा बनाएका छन्।

प्रकाशित मिति: : 2021-08-14 13:28:00

प्रतिकृया दिनुहोस्