कुनै समाचार पढेर मानिस रुन्छन्, द्रवित हुन्छन् वा अक्रोशित बन्छन्। कुनै समाचार सुनेर वा हेरेर मानिसले आफ्नो दृष्टिकोण बनाउँछ। समाचार मानिसको अनुभूति, सोच र दृष्टिकोणको आधार बन्न पुग्छ। तर मिडियाको प्रभाव केवल पाठक, श्रोता वा दर्शकमा मात्र सीमित हुँदैन। सामाजिक, सांस्कृतिक वा आर्थिक शक्ति संरचनाको परिधिमा पनि मिडिया अन्तर्वस्तुका प्रभाव सादृश्य भइरहेको हुन्छ। त्यसैले भनिएको हो, आमसञ्चार माध्यमसँग सामाजिक शक्ति हुन्छ।
सञ्चारविज्ञ भान डाइकले समाचार माध्यमहरूको शक्तिको चरित्र वा गुण–अवगुण र सीमिततालाई पनि केलाएका छन्। आमसञ्चार मानव सञ्चारका विभिन्न तहमध्ये एक हो। तर आमसञ्चारको विमर्शबाट उत्पन्न हुने सामाजिक शक्तिका सम्बन्धमा कतिपय प्रसङ्गमा सही आकलन गरिएको पाइँदैन। अर्का सञ्चारविज्ञ जोन स्ट्रीटको विचारमा शक्तिसम्बन्धी अध्ययनको प्रारम्भ सामाजिक जीवनमा प्रभाव पार्ने घटना–परिघटना वा तìवका लागि को–को जिम्मेवार छन् भन्ने थाहा पाउने चाहनाबाट हुन्छ।
समकालीन राजकीय मामिलाका लागि दोषी को–को हुन् ? अवस्थामा सुधार कसरी गर्न सकिन्छ ? समाचार माध्यमका सन्दर्भमा यस्ता प्रश्नको उत्तर खोज्न मिडिया–शक्तिको वितरण र अभ्यास वा मिडिया–शक्ति प्रयोगका बारेमा थाहा पाउन जरुरी हुन्छ। त्यही क्रममा उनी समाजमा विधमान शक्तिलाई विमर्श–शक्ति, पहुँच–शक्ति र स्रोत–शक्तिमा वर्गीकरण गर्छन्।