देउवाले बिताए एक महिना, तर सरकार विस्तारको अझै टुंगो छैन

नेपाल खबर

काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौं पटक प्रधानमन्त्री भएको एक महिना पूरा भएको छ। असार २९ मा प्रधानमन्त्रीको शपथ लिएका उनी अहिले ६ सदस्यीय मन्त्रिमण्डलको नेतृत्व गरिरहेका छन्। 

देउवा आफ्नै भागमा १७ भन्दा धेरै मन्त्रालय परेका छन्। ती सबै मन्त्रालयलाई देउवाले दिनको आधा घण्टा समय दिँदा पनि भ्याउन नसक्ने अवस्था छ।

सर्वोच्च अदालतको असार २८ को परमादेश अनुसार सत्तासीन भएका देउवाले यसअघि चार कार्यकालमा खेपेको आलोचना यो पटक मेट्ने जनअपेक्षा थियो।

तर, पाँचौं कार्यकालमा पनि देउवाले खराब सुरुवात गरेका छन्। माओवादी, जनता समाजवादी पार्टी, एमालेको माधवकुमार नेपाल समूह र जनमोर्चाको पनि साथ पाएका देउवाको पक्षमा अहिले पनि बलियो बहुमत छ। 

१६५ सांसदको साथ पाएका उनै देउवा अहिले सरकार विस्तार गर्न नसक्दा आलोचनाको केन्द्र बन्न थालेका छन्। साउन ३ मा विश्वासको मत लिएदेखि सरकार विस्तार तयारी गरेका देउवाले अझै पनि त्यसलाई टुंगोमा पुर्‍याउन सकेका छैनन्। 

असार २९ मा प्रधानमन्त्रीको शपथ लिएपछि देउवाले माओवादी र कांग्रेसबाट दुई दुईजनालाई मन्त्री बनाए। त्यसपछि साउन १० मा व्यापारिक पृष्ठभूमिका उमेश श्रेष्ठलाई राज्य मन्त्री बनाए। 

प्रधानमन्त्री बनेको डेढ सातामा एकजना राज्यमन्त्री थपेका देउवाले पाँचौँ कार्यकाल सम्हालेको आज एक महिना हुँदा पनि मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। 

प्रकाशित मिति: : 2021-08-14 06:38:00

प्रतिकृया दिनुहोस्