दोहोरो लगानीका लघुवित्त एक वर्षभित्र मर्जरमा जानुपर्ने

नेपाल राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभिनुपर्ने व्यवस्था गरेको छ।

चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी भएका लघुवित्त आगामी असार मसान्तभित्र एक आपसमा गाभ्नु वा गाभिनुपर्ने व्यवस्था गरेको हो।

नेपाल राष्ट्र बैंकले थोक कर्जा प्रदायक लघुवित्त वित्तीय संस्था र खुद्रा कारोवार गर्ने लघुवित्त गाभिने सक्ने भएका छन्।। राष्ट्र बैंकका अनुसार यस्ता संस्था एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति प्रक्रियामा सहभागी भई एकीकृत भएमा खुद्रा कारोवार गर्ने लघुवित्त वित्तीय संस्थाको रुपमा कार्य गर्न सक्ने जनाएको छ।

लघुवित्त वित्तीय संस्थाहरुले वाणिज्य बैंकको वित्तीय प्रतिनिधिको रुपमा कार्य गर्न सक्ने सम्बन्धमा आवश्यक अध्ययन गर्ने भएको छ। त्यस्तै राष्ट्रिय स्तरका लघुवित्त वित्तीय संस्थाहरुले नेपाल वित्तीय प्रतिवेदनबमोजिम वित्तीय विवरण प्रकाशन गर्नुपर्ने व्यवस्था लागू गर्ने भएको छ।

बचत तथा ऋण सम्बन्धी कारोबार गर्ने सहकारी संस्था बाहेकका अन्य विषयगत सहकारी संस्थाका समूह सदस्यमार्फत् सामूहिक खेती तथा पशु/पंक्षीपालन गर्ने प्रयोजनको लागि प्रति सदस्य रु. ५ लाख ननाघ्ने गरी त्यस्ता सहकारी संस्थाहरुलाई वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुले कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था समेत गर्ने भएको छ।

प्रकाशित मिति: : 2021-08-13 17:53:00

प्रतिकृया दिनुहोस्