फेवाताल मुहानको बाँध निर्माण कम्पनीले नै मर्मत गर्ने 

फेवातालको मुहान हर्पन खोलाको सिल्टेशन ड्याम मर्मत अब निर्माण कम्पनी कृष्ण पिके जेभीले नै गर्ने भएको छ। लगातारको वर्षापछि गत असार २३ गते राती पानीको भार थेग्न नसकेर उक्त ड्याम भत्केको थियो।

निर्माण सम्पन्न भएको वर्षदिन पनि नपुग्दै बाँध भत्केपछि महानगरको चर्को आलोचना भएको थियो। बर्खायाममा फेवातालको मुहानबाट तालमा छिर्ने गेग्रयान छेक्न बनाइएको सिल्टेशन ड्याम नै भत्केपछि निर्माणबारे अनेक प्रश्न उठ्यो। महानगर निर्माण कम्पनीलाई स्पष्टिकरण सोध्न बाध्य बन्यो।

पोखरा महानगरपालिका २३ घाँटीछिनास्थित हर्पन खोलामा बाँध बनाउने जिम्मा दाङको कृष्ण पिके जेभीले पाएको थियो। ७ करोड ८८ लाख ६२ हजार रुपैयाँमा निर्माण ठेक्का लिएको पिके जेभीले यही बर्खाअघि निर्माण सकेर महानगरलाई बुझाएको थियो। तर, निर्माण सकिएको १ महिना पनि नहुँदै सिल्टेशन ड्याम भत्कियो। 

पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले निर्माण कम्पनी कृष्ण पिके जेभीले पुन मर्मतको जिम्मा लिएको बताए। ‘ड्याममा भएको क्षतिको विषयमा सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम समस्याको निराकरण गर्ने प्रयास भयो। सम्बन्धित सरोकारवाला पक्षसँग पत्राचार र वार्तापछि ड्यामको निर्माणकर्ता श्री कृष्ण पिके जेभीले नै मर्मत सम्भार गर्ने प्रतिबद्धता जाहेर गरेको छ,’ उनले भने।

निर्माण कम्पनी कृष्ण पिके जेभीले महानगरलाई पत्र मार्फत पानीको सहत घटे लगत्तै पुन निर्माणको काम अघि बढाउने बताएको प्रवक्ता नेपालीले बिएल नेपाली सेवालाई जानकारी दिए। हर्पनको ड्याम मर्मतमा लाग्ने खर्च पनि निर्माण कम्पनीले ब्यहोर्ने छ। ‘यो पुन निर्माण गर्दा महानगरलाई थप आर्थिक भार पर्ने छैन,’ उनले भने, ‘यसबारे यसअघि पनि जानकारी गराएका थियौं।’

यसअघि पनि बाँध निर्माणकै क्रममा गुणस्तरहित सामग्री प्रयोग गरेको भन्दै स्थानीयले समेत अवरोध गरेका थिए। फेवाताल मुहानबाट तालमा मिसिने गेग्रयान छेक्न पोखरा महानगर र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा ४ खोलामा ड्याम बनेका छन्। २८ करोड १६ लाख लागतमा निर्माण सकिएको थियो। गतसाल टेण्डर भएको ६ महिना भित्रै चारै खोलाको ड्याम निर्माण सकिएको थियो। ४ मध्ये हर्पन खोलाको ड्याममा बाढीले क्षति पुर्याएको छ। ड्यामको १५ मिटर भाग बाढीले बगाई दिएको छ। जुन ड्याम निर्माणको लागि ७ करोड ८८ लाख ६२ हजारमा टेण्डर गरिएको थियो। बाँकी ३ वटा ट्याम पनि क्षतिग्रस्त छन्। ड्याम कमसल बनेको र रेट्रोफिटिङका लागि थप २७ करोड लगानी गर्नुपर्ने प्रदेश सरकारबाट गठन भएको अध्ययन समितिले निष्कर्श निकालेको थियो।

सन् २००२ मा गरिएको एक अध्ययनका अनुसार फेवातालमा वर्षेनी एक लाख २४ हजार मेट्रिक टन गेग्रान फेवातालमा मिसिन्छ। जसले हरेक वर्ष फेवातालको आकार विस्तारै खुम्चयाउदै छ। बर्खामा आउने गेग्रान छेक्न हपर्न, बेतयानी खोलामा दुई ठाउँ लौरुक र अँधेरी खोलामा  प्रदेश सरकार र महानगरको संयुक्त लगानीमा ५ ठाउँमा ड्याम बनाइएको छ।

एक्कासी बाँध भत्किदा ड्यामको १५ मिटर जति भाग बाढीले बगाएको थियो। तल्लो तटिय क्षेत्रको धान खेत र घरसमेत जोखिममा पारेको थियो। 

प्रकाशित मिति: : 2021-08-13 07:47:00

प्रतिकृया दिनुहोस्