मुद्दा विचाराधीन, शव राखेको शुल्क मात्रै १८ लाख ५४ हजार

 विगत पाँच वर्षदेखि काभ्रे पाँचखाल नगरपालिका– ७ का अजित ढकाल (मिजार) को शव टिचिङ अस्पताल महाराजगन्जको चिकित्सा क्याम्पमा राखिएको छ । ३० असार ०७३ मा धादिङको गजुरेमा उनको शव झुन्डिएको अवस्थामा भेटिएको बताइएको थियो । अन्तर्जातीय विवाह गरेका अजितको हत्या भएको भन्दै परिवारले किटानी जाहेरी दिएको थियो । 

अहिले अजितको मुद्दा विचाराधीन छ । अर्थात् अजितको शवले न्याय पर्खिरहेको छ । चिकित्सा क्याम्पसका फरेन्सिक मेडिसिन विभागीय प्रमुख डा. तुलसी कँडेल शव राखेको एक दिनको शुल्क एक हजार रुपैयाँ लाग्ने बताउँछन् ।

३० असार ०७८ सम्म अजितको शव राखेको पाँच वर्ष अर्थात् ३६५ दिन बराबर एक वर्ष अनुसार एक हजार ८ सय २५ दिन हुन्छ ।

यस हिसाबले आजका मिति अर्थात् साउन २८ सम्म अजितको शव राखेको शुल्क मात्रै १८ लाख ५४ हजार पुग्छ । अजितको न्याय एकातिर छ भने यतिका दिन शव राखेको पैसा कसले तिर्ने भन्ने प्रश्न अर्कोतिर छ । 

राष्ट्रिय दलित आयोगले अस्पतालको शुल्क तिरिदिने भने पनि हालसम्म रकमबारे अस्पताल र आयोगबीच छलफल भएको छैन । आयोग लामो समय पदाधिकारीविहीन भएका कारण अजितको घटनालाई जति प्राथमिकता दिनुपर्ने हो, त्यति दिन नसकिएको र अहिले सबै पक्षसँग छलफल भइरहेको आयोगका अध्यक्ष देवराज विश्वकर्मा बताउँछन् । उनी भन्छन्, ‘अस्पतालमा आयोगबाट रकम तिर्ने सम्झौता भएको छ, तर कति दिने भन्ने कुरा भएको छैन ।’ 

अजितको घटनामा अहिले विभिन्न अध्ययन तथा छलफल भइरहेको र घटनाको अवस्था हेरेर अगाडि बढ्ने अध्यक्ष विश्वकर्मा बताउँछन् । 

प्रकाशित मिति: : 2021-08-12 14:03:00

प्रतिकृया दिनुहोस्