प्रत्येक १०-१० वर्षमा जनगणना गर्ने गरिन्छ।
नियमित तालिका अनुसार २०७८ जेठ महीनामा नै जनगणना सम्पन्न भइसक्नुपर्ने थियो। तर कोरोना महामारीका कारण यो अझै शुरू हुनसकेको छैन।
जनगणनाबाट प्राप्त नतिजालाई तुलनात्मक रूपमा हेर्न भनेर गणनाको निश्चित मिति तोकिएको हुन्छ। त्यसैले १२औं जनगणनाको प्रक्रिया र नतिजा सार्वजनिक हुन ढिलो भएपछि यसले अन्य क्षेत्रमा पार्न सक्ने सम्भावित असरबारे बहस शुरू भएको छ।
केन्द्रीय तथ्यांक विभागमा तीन दशकभन्दा बढी काम गरी उप-महानिर्देशकबाट अवकाशप्राप्त डा. रूद्र सुवाल पनि जनगणना पछाडि धकेलिंदा केही न केही असर पर्ने बताउँछन्। २०६८ को एघारौं जनगणनाको जनसंख्या शाखा प्रमुखको रूपमा काम गरेका सुवालसँग विश्वका विभिन्न देशमा गरिने जनगणना प्रक्रियाको ज्ञान छ।
जनगणना पछि धकेलिंदा हुने असर तथा नेपालको जनगणनामा गरिनुपर्ने सामयिक सुधारका पक्षमाथि डा. सुवालसँग गरेको कुराकानीको सम्पादित अंश :
जनगणना के हो र यो किन गरिन्छ ?
जनगणना भनेको कुनै निश्चित स्थानमा निश्चित समय बसोबास गर्ने मानिसको संख्या गणना गर्ने काम हो। नेपालको सन्दर्भमा जनगणना संविधानमै उल्लेख गरिएको कुरा हो। जनसंख्याकै आधारमा नेपालमा चुनाव क्षेत्र र सांसद संख्या निर्धारण गर्ने परिपाटी छ। भूगोलको सिमाङ्कन गर्दा पनि यसैलाई आधार बनाइन्छ। देशमा केही नयाँ योजना बनाउनुअघि पनि जनसंख्याकै सवाल आउँछ। यसरी हेर्दा हरेक राज्यलाई जनगणना एक आवश्यक कार्य हो।