लुम्बिनी प्रदेशमा सरकार जोगाउन यतिबेला राजनीति उत्कर्षमा पुगेको छ।
एकातिर मुख्यमन्त्री पक्ष र विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई जोगाउन संयमताका साथ अघि बढिरहेका छन् भने अर्कोतिर प्रदेश प्रमुखले प्रदेशसभाको विषेश अधिवेशन आह्वान गरिसकेका छन्।
यहाँसम्म कि प्रदेश प्रमुख अमिक शेरचनले आह्वान गरेका प्रदेशसभाको विशेष अधिवेशन रोक्न एमाले प्रदेश अध्यक्ष लीला गिरीले सर्वोच्च अदालतमा रिटसमेत दायर गरेका छन्।
मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको भन्दै विपक्षी गठबन्धनले सांसदहरुको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिसकेका छन्। गत बैशाखमा पनि विपक्षी गठबन्धनले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए। तर पोखरेलले चलाखी कदम चाल्दै विशेष अधिवेशन बोलाएको दिन नै राजीनामा दिएका थिए।
यस पटक भने मुख्यमन्त्रीलाई आफ्नो सरकार जोगाउन सकस देखिएको छ। विपक्षी गठबन्धनले आफ्ना सबै सांसदहरुलाई एकै ठाउँमा राखेर गतिविधि चलाइरहेको खुल्न आएको छ।
सांसदहरु किनबेच हुँदै आएको लुम्बिनीमा यसपटक पनि आफ्ना सांसदहरु खरिद हुने डरले नै विपक्षी गठबन्धनले आफ्ना सबै सांसदहरुलाई एउटै ठाउँमा राखेको पाइएको हो।
हाल विपक्षी गठबन्धनसँग ४१ सांसद छन्। त्यसबाहेक एकजना भने सभामुख छन्। मुख्यमन्त्री (एमाले) सँग भने ३८ जना सांसद मात्र छन्।
रोचक बन्दै गइरहेको लुम्बिनीको राजनीतिमा प्रदेश प्रमुख शेरचनले कस्तो कदम चाल्छन्, त्यो भने हेर्न बाँकी नै छ।