पर्यटक आउने बाटो हेर्दै चाचा

कोरोना कहरले थला परेको छ– नेपाली पर्यटन। पर्यटनसँगै थला परेको छ– यहाँका होटल व्यवसाय र अनेक योजना बनाएका डोटीका भीम शाहीको मन। हिजोआज प्रायः होटलको छतबाट हेरिरहन्छन्– चारैतिर। 

खेतमा हरियाली छाएकोे दृश्यले सम्झाइरहन्छ– पहाडका खेत र गराहरू। सम्झनामा आइपुग्छन्– कतै बाल्यकाल त कतै घर लिलाम गर्न बैंकले जारी गरेको सूचना। सडक सुनसान देख्दा सम्झिन्छन्– नौ वर्षअघि ‘शुभम् होटल’ सुरु गर्दाका दिन। 

नजिकै थियो– सेती अञ्चल अस्पतालको लाशघर। अँध्यारो नहुँदै सुनसान भैसक्थ्यो त्यो बाटो। तर्साउछ भनेर प्राय मान्छे गर्दैन थिए त्यो बाटोमा आवतजावत। अचेल एक दुई बजे राती पनि हिँडिरहेकै हुन्छन्– त्यो बाटोमा मान्छे।



रानी ऐश्वर्यका नाममा स्कुल खोलियो मोटी दमिनीको जग्गामा

एक रोचक बालकथा– ‘पैसावाला डुप्का खै त ?’



औषधि व्यवसायका व्यवस्थापकहरूलाई सस्तो दरमा कोठा उपलब्ध गराएर सुरु गरिएको व्यवसायबाट ठीकै भइरहेको थियो कमाइ। कोरोना कहरले पुनः बढाएको छ– तनाव। 

एक समय थियो– गाउँमा राजनीति गर्नेका छोराछोरी निकै पीडित हुन्थे। पाहुँना आउँदा प्रधानको घरमा बास बस्न खोज्ने। अहिलेका स्थानीय तहका पदाधिकारीको जस्तो थिएन तलब भत्ता। मात्र पद थियो। त्यही पदमा मख्ख हुन्थे कतिपय जनप्रतिनिधिहरू। 

त्यस्तै मख्ख थिए– भीमबहादुर शाहीका बुवा लक्ष्मण शाही पनि। उनी समाजसेवी थिए र नशा थियो– राजनीतिको पनि। गाउँघरतिर सुनिन्छ– लक्ष्मण शाहीको दिल उदार थियो भन्ने। 

आफ्ना बालबालिकालाई छोडेर गाउँका बालबालिकालाई किनिदिन्थे रे– लुगाकपडा ! आयश्रोत केही थिएन। सबै ऋण लिएरै गर्नुपर्ने हुन्थ्यो।दुःखकष्ट गरी एसएलसी पास गरेका भीम शाही एक दिन घरबाट भागेर पञ्जाब पुगे। साथमा थिए– उनका कान्छा बुवा पर्ने चक्र शाही। केही महिनापछि चक्र शाही घर फर्के तर भीम शाही फर्केनन्। 

ठूलोबुवाका छोरा सुरत शाहीकोमा आठ–१० दिन बसेपछि भीमले आफैँसँग मनमनै भनेछन्– ‘आउनु थिएन आइहालिस्। अब फर्किने हैन, बरु बम्बै जानुपर्छ।’ उनको मनले निर्देशन दिएपछि उनी हिँडे मुम्बैतिर। 

मुम्बैको पुना पुगेर भेटे डिलबहादुर रावललगायत केही साथीहरूलाई। रावल पढ्दै थिए। उनकै पढ्ने कलेजमा भर्ना गरेर पढ्न थाले शाही। पढाइ चलेकै थियो। साइडमा कामकाज पनि चलिरहेकै थियो। 

एक दिन भेट भयो नेपाली मूलका देहरादूनबासी बी.दंगपालसँग। उनी थिए गोर्खा आर्मीका रिटायर्ड क्याप्टेन। ती दंगपाल थिए गोर्खा सर्भिसेज नामक मेनपावरका सञ्चलाक। दंगपालले दुबई जानुपर्ने भयो। 

यता मेनपावर चलाउने मान्छे नभएपछि दंगपालले शाहीलाई भनेछन्– ‘म्यानपावर चलाउन सक्छौ ?’ सोचविचार केही नगरी जे परेपर्ला ठानेर तुरुन्तै उत्तर फर्काएछन्– ‘सक्छु।’ 

ती दिन सम्झिदै सुनाउँछन् उनी – ‘बम्बैभित्रै मान्छे चाहिएको ठाउँमा कामदार पठाउनुपर्ने हुन्थ्यो। एक सय पाँच जना थिए कामदारहरू। एक जना पठाएबापत रकम आउँथ्यो– तीन सय रुपैयाँ। 

कामको त्यही दौरानमा घरबाट आउनेहरूले ल्याइरहन्थे– बुवाले पठाएको रैवार। त्यो खवरले थप्दैनथ्यो– मनमा कुनै उत्साह। अप्रत्यक्ष रुपले भनिएको हुन्थ्यो– भारत गएर चौकीदार बन्ने .....। त्यो कुराले मनमटुमा गइरहन्थ्यो चस्का। मसँग थिएन कुनै विकल्प त्यसैले कामलाई निरन्तरता  दिइ नै रहेँ।’ 



के तमीसँग कर्णालीको नक्सा छ ?

खप्तडका पाटनभन्दा कयौँ गुणा ठूला छन् दुःखका पाटनहरू



काम गर्दै कलेज पढ्दैगरेका शाहीले स्नातक तह सिध्याएर तय गरेछन् काठमाडौंको यात्रा। काठमाडौं हानिनुको एउटै उद्देश्य थियो जापन जाने गोरेटो तय गर्नु। आफ्नै मान्छे थिए जापानमा व्यवसाय चलाएर बसेका। तिनैको आशमा बिताए– काठमाडौंमा ४/५ वर्ष। उपलब्धि केही भएन। २०५७ साल माघमा आफ्नै किसिमले जापानका लागि ‘एप्लाइ’ गरे। भीसा त लाग्यो तर टिकट काट्न पैसा नै थिएन खल्तिमा। भगवान्झैं देखापरे रैंका ट्राभल्सका निर्देशक सहयोगी दिलका अमर शाही। तिनैले किनिदिए प्लेनको टिकट र पठाए उनलाई जापान। 

सात महिना जापान बसेर फर्किए उनी। ‘टुरिस्ट भिसा’ मा गएर सात महिनामा के नै कमाइ हुन्थ्यो र ? मात्र पूरा भयो जापान पुग्ने रहर। २०५९ सालमा उनी फर्किने बेला बुवा गम्भीर बिमारी थिए। फोक्सोका बिमारी बुवालाई पुर्याए काठमाडौंको बी एण्ड बी हस्पिटल। केही दिन हस्पिटल राखेपछि डाक्टरले सुझाव दिएछन्– ‘महिना दिन कटाउनु हुन्न अब घर लैजानू। धेरै खर्च नगर्नू।’ 

हस्पिटलमा तिर्नुपर्ने रकममा पनि डा.ऋषि श्रेष्ठले केही रकम छूट गरिदिएछन्। डाक्टरले भनेझैं महिना दिन कटाएन छन् बुवाले। अन्तिम अवस्थामा रुनु हुन्थ्यो रे, बुवा ! रुनुको कारण थियो केही गर्न नसक्नु। त्यो केही गर्न नसक्नु भनेको बैंकले लिलाम गरेको घरजग्गा सकार्न नसक्नु थियो। कृषि विकास बैंकबाट आफ्नो नाममा लिइएको र अरुको लागि आफू जमानतमा बसी निकालिएको जम्मा ऋण ३३ हजार थियाे। आफ्नो नाममा निकालेको रकम मध्ये पनि केही रकम त कसैलाई मल किन्न, कसैलाई खाद्यान्न किन्न जस्ता प्रयोजनमा खर्च गरिएको थियो। २०३२/०३३ सालमा लिइएको ३३ हजार ऋण ०६९ सालमा आइपुग्दा  १२ लाख पचास हजार पुगिसकेको थियो। 

कृषि बिकास बैकले घरजग्गा लिलामको सूचना निकाल्यो। गाउँमा चाहेनन् कसैले पनि उक्त घरजग्गा किन्न। पछि बैंकले आफ्नै नाममा सर्याे।एकातिर घरजग्गा बैंकको नाममा। अर्कोतिर बेरोजगार जिन्दगी। घरको जेठो भएपछि जिम्मेवारी टाउकोमा आउनु स्वभाविकै थियो। वर्ष दिनपछि बिहे गर्न सल्लाह दिइरहे आफन्त, शुभचिन्तकहरूले।

कामकाज केही छैन यस्तो अवस्थामा के बिहे गर्नु ठानेर टारिरहे उनी। घर छोडेर काठमाडौंमै बसे। कामको खोजी गरिरहे। बेरोजगार जिन्दगीको पीडा कस्तो हुन्छ राम्रो अनुभव गरे।

कुराकानीका क्रममा बलैले लुकाए– परेलीका डिलसम्म पुगेका आसुँ। र, भने– ‘जुन दिन खल्तिमा पैसा हुँदैनथ्यो, त्यो दिन अमर शाहीले दिएर जान्थे पैसा। कुन्नि के सपना हुन्थ्यो उनलाई। कसरी थाहा पाउथे मसँग पैसा छैन भन्ने। काठमाडौ बस्दा मेरा लागि देवतुल्य बने उनै अमरबहादुर शाही।’

तिनै अमरबहादुर शाहीले एक दिन उनलाई भनेछन्– ‘ठाकुरद्वार तिर जाऔं घुम्न।’ ठाकुरद्वारको नेपाल वाइल्ड लाइफमा बसेछन् आफु भीमलगायत दुई तीन जनालाई जङ्गल घुम्न पठाएछन्। जङ्गल प्रवेश गर्नु अघि शिक्षा दिन थालेछन् गाइडले – ‘हात्ती आए जिकज्याक गर्नु पर्छ। गैंडा देखे रुख चढ्नु पर्छ आदि।’ 

जङ्गलमा स्याँ सुँ केही थिएन। बिलकुल सुनसान थियो। भीम शाहीको मनमा खेल्न थाले छन् अनेकौं कुरा र मनमनै भन्न थालेछन् –‘अगाडी पछाडी दायाँ बाया कताबाट के पो आउने हो। यिनीहरूलाई थाहा छ भाग्ने तरिका। म यतै अड्किने हुँ। हे भगवान् कहाँ आइपुगेँ।’

 मनभरि डर बाकेर जङ्गल डुलेका उनका लागि ठाकुरद्वारको त्यो यात्रा जिन्दगीकै यादगार यात्रा बन्यो। ठाकुरद्वारबाट फर्किएर काठमाडौं पुगेको केही दिनपछि अमर शाहीले भनेछन् – ‘अब ठाकुरद्वारमा व्यापार गरौं। त्यहाँ तपाइले हेर्नु पर्छ। सक्ने कि नसक्ने ?’ 

‘सक्छु भनेर कस्सिए कसिनलाई त तर मनमा के के कुरा खेल्न थाले। म होटेल चलाउँदै छु मान्छेले के भन्लान ठानेर कोठामा लुकेर बसेँ केही महिनासम्म। त्यो समयमा रैका ट्राभल्सको पनि आर्थिक अवस्था त्यति राम्रो थिएन। 

एक हजारभन्दा कममा कोठा भाडामा नदिने। रैंकाको स्ट्यान्डरलाई बचाउने भन्ने सल्लाह सुरुमै भैसकेको थियो। तर, दुई वर्षसम्म राम्ररी चल्न सकेन होटल। घरभाडा कर्मचारीको तलबलगायत सम्पूर्ण खर्च अमर शाहीले नै व्यहोरी रहे’ –विगत सम्झिदै सुनाए उनले। 

एकदिन उनले अमर शाहीलाई भनेछन्  – ‘आब कति जङ्गल बसुँ। इसेरी त चल्लैन।’ अनि जसरी सकिन्छ चलाउनू भन्ने ‘ग्रीन सिग्नल’ पाएछन्। त्यसपछि पाँचसय, छ सय, सात सय ग्राहकको मोलमोलाई अनुसार नै दिन थालेछन् कोठा भाडामा। त्यसपछि केही वर्ष सुचारु ढंगले संचालन गरे होटल। 

त्यही दौरानमा ०६९ सालमा उद्योग वाणिज्य संघ कैलालीको घर भाडामा लिएर धनगढीमा सुरुवात गरे होटल शुभम। त्यही वर्ष आफ्नै घरजग्गा किने बैंकबाट। अनि फेर्न पाए लामो सास। अहिले ठाकुरद्वार छोडेर धनगढीमै जमेका छन् उनी। ठाकुरद्वारमा सात कट्टा जग्गा पनि किनेका छन्। भविष्यमा त्यही जमिनमा होटल संचालन गर्ने सोच छ उनको। 

तीन भाई तीन बहिनीलाई पढाएर सबैको बिहेवारी गरिसकेपछि जब जिम्मेवारीबाट मुक्त भएको महशुस भएसँगै हुन थालेछ एक्लो पनको महशुस पनि। ३९ वर्षको उमेरमा बर्दियाकी अञ्जु शाहीलाई भित्र्याए जीवनसाथीका रुपमा। बिहेको प्रसङ्ग निकाल्दै सुनाए उनले – ‘गोजीमा गहना किन्ने पैसा थिएन। अमर शाहीले नै दिएका हुन् गहना किन्ने पैसा पनि। कसैलाई थाहा नदिलाएर नेपालगञ्जको बागेश्वरी मन्दिरमा गई बिहे गरियो। 

नाताले भतिज परे पनि मेरा अभिभावक अमर शाही हुन्। उनकै मार्गदर्शन पाएर यहाँसम्म पुगेको हुँ। इमानदार भएर मात्रै नहुँदो रहेछ। केही बन्नका लागि केही हुनु पर्दो रहेछ। कोही हुनुपर्दो रहेछ बाटो देखाउने पनि। 

अमरको चाचा भनेपछि सबैले चिनजान गर्न थाले। प्रायः सबैले चाचा भनेर सम्बोधन गर्न थाले। ती सबै शुभचिन्तकहरूको साथ सहयोग र माया पाएरै पाइला टिकाउन सिकेको हुँ यो व्यवसायमा।’ अमरबहादुर शाहीको साथी ‘सर्कल’ माझ अहिले उनी चिनिन्छन–चाचाका नामले। 

प्रकाशित मिति: : 2021-08-08 19:15:00

प्रतिकृया दिनुहोस्