एक रोचक बालकथा– ‘पैसावाला डुप्का खै त ?’

हेमन्त विवश

काठमाडौँ

बालकको पहिलो पाठशाला भन्नु नै पितामाता र घरपरिवार हो। विगतमा त्यही घर–परिवारले सिकाउँथ्यो ज्ञानगुन र नैतिकताका कुराहरू। अनि सिकाउँथ्यो जिन्दगी जीउने उपाए पनि।

भाषा सहित्य संस्कृति सबै कुरा समाजकै उपज हुन्। यी सबै समाजकै सन्तति हुन्  भन्दा अत्युक्ति नहोला। हाम्रो समाजमा व्याप्त स्थानीय रीतिथिति अझ भनौँ कतिपय प्रथा–परम्पराहरू नै हाम्रा सिर्जनाका श्रोतहरू हुन्। 

यिनै श्रोतहरूलाई आफ्नो काव्यिक कलाको सुन्दर ‘प्लट’ तयार गरी ‘पैसावाला डुप्का खै त ?’ नामक रोचक कृति तयार पारी पाठकसामु पस्केका छन्– कथाकार केशवराज भट्टले। 

सुदूरपश्चिममा व्यावहारिक जीवनमा प्रयोग हुने खानाका परिकारदेखि संस्कार संस्कृतिका कतिपय पाटाहरू छन्। भाषिक तरङ्गहरू छन्। लोकसाहित्यका आरोह अवरोहहरू छन्। 

यिनै बनेका छन् जिन्दगीका उकाली ओरालीमा सास फर्न सिकाउने सहयोगी। यी सबै कुरा मनन् गरी अझ भनौं बालमनोबिज्ञानलाई मध्यनजर गरी पछिल्लो समय बालकथा लेख्ने प्रयत्नमा तल्लीन देखिन्छन्– बालकथाकार केशवराज भट्ट। 

निर्बोध, निश्चल अनि सुन्दर मन भएका बालबालिकाहरूको छुट्टै जगत छ। ती बालबालिकाहरूको मन पढेर वा कल्पना गरेर रचना तयार गर्नु आफैँमा एउटा सन्तुष्टिको पाटो पनि हो। 

अचम्मको हुन्छ मान्छेको मन। मन नभइदिँदो हो त कस्तो हुँदो हो जिन्दगी। आखिर मन छ र पो आशा, निराशा, पीर, व्यथा, मायाप्रेम सबैको अर्थ खोज्न थाल्छ मान्छे। सबै चिजको महत्व बुझ्न थाल्छ। 

यही मन हो– कतै पग्लिन्छ। कतै डराउछ। कतै विद्रोह गर्छ। कतै आज्ञाकारी बन्छ। हरेक मोडमा हरेक अवस्थामा फरक शैलीमा देखापरिदिन्छ। यस कथामा लेखकले बालबालिकाहरूको मनको पाटो बडो कोमल जिज्ञाशु अनि प्रेमिल हुने गरेको कुरा सुन्दर ढङ्गले प्रस्तुत गरिदिएका छन्। बालबालिकाको मनको पाटो झल्काउने क्रममा बालबालिकाको दुनियाभित्र आफु पनि मिसिएको पत्तै हुँदैन कथाकारलाई।

त्यही कोमल संवेदनशील मनले नै खोतल्न लगाउछ लेखकलाई विगतको परिवेश। बालबालिकाको मनको कुना कुनामा पुग्ने प्रयत्न पनि हो यो कृति। विगतको सम्झना पनि हो। अनि हो सुक्ष्म ढंगले गरिएको बाल–मनोविज्ञानको अध्ययन। 

‘पैसावाला डुप्का खै त ?’ रोचक कृति बनेको छ। पाठकको मनलाई छुने कृति बनेको छ। लेखकले कथालाई बहुत् सावधानीपूर्वक पस्किन खोज्दाखोज्दै पनि सानातिना कमजोरी कथाभित्र दिएका छन्। 

सुदूरपश्चिममा थोरै मासको पेस्ट र थोरै गहतलाई पानीमा राखेर पकाइन्छ। त्यसमै मिसाइन्छ मासको पेस्टबाट बनाइएका ससाना डल्लालाई। तिनै ससाना डल्लालाई नै डुप्का भनिन्छ।

गहतको दाल समेत प्रयोगमा ल्याइने हुँदा गतानी डुप्का भनियो। मासले चिसो र गहतले तातोपन बढाउने हुँदा दुबैको मिश्रण गरी बनाउने गरियो जुन विज्ञानको हिसाबले पनि हितकर मानिन्छ। 

यो परिकार हिउँद बर्खा जहिले नि पकाइन्छ। यो सुदूरपश्चिमेलीको चर्चित परिकारमा पर्दछ। यस विषयमा पनि थोरै चर्चा गर्नु आवश्यक देखिन्छ। 
हरेक ठाउँमा हरेक प्रसँगमा कहि न कही केही मात्रामा अन्धविश्वासका कुराहरू पनि जोडिएकै हुन्छन् हाम्रो समाजमा। सुदूरपश्चिमका परिकारमा पनि कही कतै केही अन्धविश्वासका प्रसङ्ग जोडिन्छन्। 

‘पैसावाला डुप्का खै त ?’ कथामा पनि खुर्सानीवाला,पैसावाला र केइलावाला डुप्का अन्धविश्वासका पाटा हुन्। जुन कुराले बालमनोविज्ञानमा असर पार्दछ। 

कथामा उल्लेख गरिएअनुसार जुन डुप्काभित्र खुर्सानी राखिएको छ त्यो पाउने रिसाहा हुन्छ। जसको भागमा कोइलावाला डुप्का पर्याे त्यसले फलामको काम गर्नु पर्ने हुन्छ। अनि जसको भागमा पैसावाला डुप्का पर्याे त्यसले धन कमाउन सक्ने पूर्व सङ्केतका रुपमा लिइने गरिन्छ। जुन कुरा अन्धविश्वाससँग जोडिएको छ।

यस कथामा कथाकारले पैसावाला डुप्का पकाउनै बिर्सेको अर्थात डुप्काभित्र राख्न कथाका पात्र विनोदकी माइजुले विनोदका मामाले दिएका सिक्का कचौरामै रहेको कुरा देखाएर केही फरक, रमाइलो र रोचकपक्ष सिर्जना गरेका छन्। 

कथामा डुप्काभित्र राखिने कोइला, खुर्सानी, पैसा जस्ता सामग्री रमाइलोका लागि मात्र प्रयोगमा ल्याइएका हुन् भन्ने कुरा कुनै न कुनै हिसाबले समावेश भइदिएको भए कथा अझैं शसक्त र सुन्दर हुन जान्थ्यो। 

यति हुँदाहुँदै पनि उनको कथा शिल्प अरुको भन्दा पृथक देखिन्छ, सुन्दर देखिन्छ। कृतिभित्र कही कतै केही सुधार गर्नुपर्ने ठाउँ देखिए पनि सुदूरपश्चिमको संस्कृति, जीवनशैली र परिकारको बारेमा कथा मार्फत् जानकारी गराउने जमर्को पनि हो– यो पुस्तक। 

कथाको बीचबीचमा बालबालिकालाई चाहिने खालका रङ्गीन आकर्षित चित्रहरू समावेश गरिनु, बालबालिकाको आवश्यकतालाई ध्यानमा राखी अक्षरको उपयुक्त साइज चयन हुनु कथाका सुन्दर पक्ष हुन्।

एउटा मात्रै कथा भएको उक्त कृति जम्मा सोह्र पृष्टको छ। यसमा अरु एक दुइटा कथा थप्न सकेको भए अझ सुन्दर देखिन्थ्यो। यौटै मात्र कथा भए पनि रोचक र पठनीय छ।

विद्यालयहरूले अतिरिक्त पाठ्यसामग्रीका रुपमा यस्ता रमाइला कृतिहरू पठनपाठन कार्यमा समावेश गर्न सके बालबालिकाहरूले पाठ्यपुस्तकमा समावेश गरिएका विषयबस्तुका साथै अन्य रोचक कुराहरू अध्ययन गर्ने अवसर पाउँछन्। यसकथाको अध्ययनले बालबालिकाले मामाघरको परिवेशबाट  इष्टमित्र, नातागोतासँगको हाम्रो सम्बन्धको बारेमा थाहा पाउन सक्छन्।

त्यस्तै खानाको परिकारको प्रसङ्ग र विद्यालयबाट फर्केपछि हातगोडा धुनु पर्ने लुगा फेर्नुपर्ने जस्ता बानी व्यवहारहरू कथाका माध्यमबाट सजिलोसँग सिकाउन सकिने कुरा उल्लेख गरिएको छ। जुन बालबालिकाको हकमा अत्यावश्यक पनि मानिन्छ। बालबालिकाका हकमा यो कृति राम्रो खुराक बन्न गएको छ। यस अर्थमा पनि बधाईका पात्र बनेका छन् कथाकार भट्ट। 

प्रकाशित मिति: : 2021-08-07 06:12:00

प्रतिकृया दिनुहोस्