कुनै बेला ऊ सबैलाई विश्वास गर्थ्यो
चरा, सर्प, मालिक, मान्छे र भगवान्
सबका सब उसका आफ्नाहरू थिए
तर जब बाढीले उसको खेत बगायो
लगातार र पुस्तौँपुस्तादेखि जब उसलाई मालिकले रुवायो
जब ऊ सत्र दिन लगातार रेलको पटरीहुँदै हिँडेर देश फर्कियो
जब उसको चुलो प्रत्येक साँझ चिसो र अझ चिसो हुँदै गयो
त्यसपछि उसले मालिकलाई विश्वास गर्न छोड्यो
विस्तारै उसको विश्वास भगवान्बाट पनि उठ्यो
र, आजकल ऊ आन्दोलनहरूलाई पनि घृणा गर्छ।
आउनुहोस् पाठकहरू, यो कवितालाई मान्छेको भाग्यसँग जोड्न हामी जाऊँ लखनपुरा।
यो त्यस्तो गाउँ हो, जुन गाउँमा आजकल नाथुराम र उसका मान्छेहरूले सपना देख्न छाडेका छन्।
ढलुवामा माछा मार्दै गर्दा नाथुरामले पिप्राहा जाने डगरमा मान्छेको ताँती देख्यो। कमिलाको ताँतीजस्तो। धमिराको लस्करजस्तो। भेडाको बथानजस्तो। ऊ एकछिन अलमलमा पर्यो। अघिल्लो राति गाउँमा अकबरे हात्तीको बथान पसेको थियो। त्यसैले कतै बित्याँस पो पार्यो कि ?