भर्खरै रात्रिबस चढेँ। नेपालगन्जबाट नारायणगढ जान भनेर साँझ ७ बजेको बस चढेको हुँ। खाली सिटको झ्यालपट्टि बसेँ।
केही समयपछि ट्राउजर, भेस्ट र जुत्ता लगाएकी, कपाल काटेर अलिक छोटो पारेकी १६/१७ वर्षजतिकी यौटी पातली किशोरी मेरो छेउमा बस्न आइपुगिन्। उनले लेडिजसँग सिट नमिलाइदिएकोमा केही बेर कन्डक्टरसित गनगन गरिन्।
कोरोनाको बेला एक त गाडी पाउनै मुस्किल ! कन्डक्टरले रोजीछाडी सिट कता मिलाओस् ! बरु, उसले मलाई झ्यालको सिट छोडिदिएर छेउमा बसिदिन अनुरोध गर्यो।
“झ्यालको सिट भनेर मसित तेत्रो भाडा लिएको होइन ?” मैले प्रतिवाद गरेँ।
अनि ती किशोरीतिर हेर्दै सोधेँ, “तिमी सुनकलीजस्तै भलिबल खेलाडी हौ कि क्या हो ?”
उनको ड्रेस खेलाडीको जस्तै भएकाले मेरो दिमागमा त्यस्तो कुरा आएको थियो।
तर, उनले बडो आत्मविश्वाससाथ भनिन्, “हैन। म पूर्णिमा हमालजस्तै फुटबल खेलाडी पो बन्न खोज्दै छुु।”
वाह ! कस्तो आत्मविश्वास भएकी केटी रै’छिन् ! ती किशोरीका बारेमा जान्ने जिज्ञासा जागेर आयो।