प्रस्तुत लेख विशेष कुनै पनि कलासँग आत्मसात् हुनखोज्ने सिकारू नयाँ पुस्ताका लागि लेखेको हुँ। मैले कलामा लाग्ने पछिल्लाे पुस्ताका युवा–युवतीहरूका लागि मुहार-पुस्तिकादेखि बिएल नेपाली सेवासम्म लेखेकाे छु। थाहा छैन, उनीहरू यी लेख पढ्छन् कि पढ्दैनन् तरपनि नदीको काम हो बग्ने। लेखकको काम हो लेख्ने।
'कला' भनेको मनलाई हर्ने, मनलाई मोहित पार्ने सुन्दर कर्म पनि भनिन्छ। कला विभिन्न प्रकारका हुन्छन्।
ती सबै कला मलाई थाहा छैन तर मैले आफ्नो जीवनमा दुईवटा कलालाई आत्मसात् गरेँ। चित्रकला अनि लेखनकला। अहिले म यी दुवै कलाको माध्यमबाट साना–साना भाइ-बहिनीहरूलाई आफ्नो अनुभव बताउँछु।
कथा, कविता, गजल, उपन्यास लेख्न कला चाहिन्छ। चित्र चित्राङ्कन गर्न पनि कला चाहिन्छ। हातमा रंग-तूलिका मात्र भएर सुन्दर कला जन्मिन्न। हातमा लेखनी र कागत भएर पनि सुन्दर गजल, मुक्तक आदि लेखिन्न।
कला पाउनका लागि अभ्यासलाई निरन्तर साधनामा ल्याउनुपर्छ। कला पाउनका लागि 'म कलामा डुब्छु, सिक्छु' भनेर यसप्रति समर्पणको भावना राख्नुपर्छ। यसमा समर्पित हुनुपर्छ। समर्पित हुँदा तिमीलाई अग्रगामी हुन नदिन तिम्रा मार्गहरूमा समाजले अवरोधकको कंटक बिछ्याउने पनि छन् तर तिमी यसमा विचलित हुनुहुन्न।
कला वास्तवमा रहर होइन, समर्पणको भावना हो। यदि तिमीले रहरले लेखनी वा तूलिका समाएको छौ भने तिमी कहिल्यै दिगो रहने छैनौँ।
मुहार-पुस्तिकामा पनि तिमीले यही रहरले गजल, मुक्तक लेखेर पोष्ट गरेका छौ भने तिमी जीवनमा कहिल्यै कलामा सफल हुने छैनौ। दुई/चार दिनपछि तिमी हराउने छौ। मैले यस्तै भेटेको छु, यसै कारण तिमी अरू क्षेत्रमा आच्छादित हुनेछौ भन्ने कल्पना त नगरे पनि हुन्छ।
मैले धेरैपल्ट लेखिसकेको छु- हिन्दीका बहुचर्चित उपन्यासकार गुल्शन नन्दाको उपन्यास पढेर म पनि यिनीजस्तै उपन्यासकार हुन्छु भनेर उपन्यास लेख्ने मन बनाएँ। यसमा रहर होइन, समर्पित हुने भावना राखेँ। गोर्खा पल्टनमा भर्ती भएर गएपछि पनि राजस्थानको सुन्दर नगरी उदयपुरमा उपन्यास 'विगतको परिवेशभित्र' जन्माउन सकेँ।
सेना विशेष इन्फेन्ट्री बटालियन अर्थात् लडाकु पल्टनमा सिपाही यति साह्रो अनुशासनको व्यस्ततामा घेरिएको हुन्छ कि कहिले त सिपाहीले आफ्नो खाना खाने फुर्सद पनि पाउँदैन। त्यस्तो स्थितिमा उपन्यास 'विगतको परिवेशभित्र' कसरी लेखेँ भन्ने विषयमा मैले यसअघि संस्मरण नै लेखिदिएको थिएँ। लेखनकलामा म साँच्चिकै बहुलाएको थिएँ।
फुर्सत नपाउने सेनामा तैलचित्र चित्रांकित गर्छु भन्ने कुरा त नसोचे पनि भयो तर यसमा पनि समर्पित हुन्छु भन्ने भावना थियो। र, म सन् १९७४ मा श्रीनगरमा हुँदा श्रीनगरको पूरै बजारभरि हरियो बर्दीमा तैलरंग र तूलिका किन्न भनेर दिनभरि डुलेको थिएँ।
त्यस बेला श्रीनगर आजको जस्तो आतंकवादीको गढ भएको थिएन। दिनभरि डुलेर खोजेपछि एउटा पसलमा बल्लतल्ल ती सामग्रीहरू पाएको थिएँ अनि किनेँ। पल्टनमा आएपछि एउटा तैलचित्र फुर्सद निकालेर चित्रांकन गरेको पनि थिएँ।
जुन तैलचित्र मैले कालिम्पोंगवासी साहित्यकार ज्ञान सुतार दाज्यूलाई दिएको थिएँ। उहाँ पनि त्यसबेला हाम्रो पल्टनसँग संलग्न हुनुहुन्थ्यो। उहाँ 'आर्मी एड्यूकेशन कोर' का,अहिले कालिम्पोङमा सेवानिवृत्त जीवन व्यतित गरिहनुभएको छ।
चित्रकलाका लागि कति बहुलाएको थिएँः लेखन कलामा पनि बहुलाएको हुनाले नै सन् १९८३ मा गोर्खा पल्टनबाट अवकाशप्राप्त गरेर निस्केपछि पल्टनमा संग्रह गरेको जम्मै पूँजी लिएर उपन्यास 'विगतको परिवेशभित्र' छपाउन भनेर बनारस पुगेँ। यो पनि बहुलाएकै भन्नुपऱ्यो।
अनि उपन्यासमा जम्मै पूँजी लगाएको तर उपन्यास बिक्री नभएर उपन्यासमा खर्चिएको पूँजीनै उठेन। म साँच्चिकै 'भिखारी' भएँ। भिखारी भएको कथा आफ्नो आत्मजीवनी भाग-१ 'कारगिल युद्ध-१९९९' मा लेखिदिएको छु।
यस्तो भएर पनि मैले लेख्न छाडिनँ। रहरमा लेखक हुन खोजेको भए मैले लेख्न छाड्ने थिएँ। समर्पित भावना थियो। बहुलाउने भावना थियो र लेख्न छाडिनँ। अन्त्यमा, यही समर्पित भावना र बहुलाउने भावनाले गर्दा मलाई 'साहित्य अकादेमी पुरस्कार' ले चुम्न आयो।
कुनै पनि कलामा समर्पित भावना राख्नुको अर्थ हो, त्यस कलामा मनप्राणले लागिरहनु। लागिरहनुको अर्थ हो त्यस कलामा एकाग्रचित्तसँग लागेर बहुलाउनु। जबसम्म तिमी पाउँछु, गर्छु भनेर कुनै पनि सुकर्मका लागि बहुलाउँदैनौ, तबसम्म तिमी उपलब्धि-शून्य हुनेछौ।
परमहंस रामकृष्ण पनि माता कालीको दर्शन पाउन तिनको आराधनामा निरन्तर लागेर आफ्नो घाँटी हँसियाले रेट्न बहुलाएका थिए। बहुलाएकाले अन्तत: माता कालीले उनलाई दर्शन दिइन्।
बहुलाउनेको प्रसंगमा एउटै मात्र तैलचित्र चित्रांकित गर्नका लागि मैले सोनी कम्पनीको डिजिटल आठ हजार रुपैयाँ (भारु) मा किनेको थिएँ। एउटा तैलचित्र चित्राङ्कन गर्नका लागि आठ हजार रुपैयाँमा डिजिटल क्यामेरा किन्ने मान्छेलाई बहुलाएकै मान्छे भन्नुपर्छ।
यसरी बहुलाउने हुँदा मैले नातिनी लक्ष्मी थापाको तैलचित्र चित्रांकन गर्नसकेँ। मैले डिजिडल क्यामेरा किन्नुको मूल कारण थियो-नातिनीको सौम्य मुहार डिजिटल क्यामेरामा सजाउन। म उसको सौम्य मुहार चित्रांकित गर्छु भनेर ऊसँग उसको फोटो माग्दा ऊसँग त्यसबेला आफ्नो चित्राङ्कन गर्ने खालको फोटो थिएन। यसैकारण डिजिटल क्यामेरा किन्न म बहुलाएको थिएँ।
बहुलाएकै कारण नातिनी लक्ष्मी थापाको तैलचित्र चित्रांकन गर्नसकेँ। जो मेरो जीवनको सुन्दर तैलचित्रहरूमध्ये सुन्दर तैलचित्र हुनपुगेको छ तथा बहुलाएकै कारण यो तैलचित्र सैनिक कवि विशाल केसीको पुस्तक 'विक्रमवीर थापा मेरा आँखी झ्यालमा' सुशोभित हुनपुगेको छ।
यसैले नयाँ पुस्तालाई भन्छु, 'तिमीले कुनै पनि कर्म रहरले होइन,समर्पणको भावनाले गर!'