अमेरिकामा निधन भएका पर्वतका विपिनकाे शव एनआरएनएकाे सहयाेगमा आज नेपाल पठाउँदै

अमेरिकामा निधन भएका पर्वतकाे फलेवासका २८ वर्षीय विपिन लम्सालकाे शव आज नेपाल पठाइने भएकाे छ। उनकाे शव एनआरएनए अमेरिकाको पहलमा टर्किस एयरबाट नेपाल पठाउन लागिएकाे हाे।

अमेरिकाको न्युयोर्कमा जुलाई २७ (मङ्गलवार) अचानक मृत्यु भएका विपिनकाे शव नेपाल पठाउन लागिएकाे एनआरएनए अमेरिकाले जानकारी दिएकाे छ।

एनआरएनएका अनुसार उनकाे शव न्यूजर्सीमा रहेको रुवी मेमोरियल फ्यूनेरल र क्रिमेशन सर्भिसले सुरक्षित ढङ्गले नेपाल पठाउन सहयोग गरेको छ। जसकाे सबै खर्च गैरआवासीय नेपाली सङ्घ अमेरिकाले गर्ने भएकाे छ। 

निधनपछि विपिनका बुवा पोशराज लम्सालले छोराको शव नेपाल पठाइदिन एनआरएनए अमेरिका न्यूयोर्क च्याप्टरलाई अनुरोध गरेका थिए। साेही अनुरोध अनुसार विपिनको शव यथासम्भव छिटो नेपाल पठाउन अध्यक्ष बुद्धिसागर सुवेदीले अमेरिकास्थित नेपाली एम्बेसी, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, महासचिव अन्जनकुमार चौलागाई, निवर्तमान उपाध्यक्ष वीआर लामा र न्यूयोर्क च्याप्टरसँग समन्वय गर्दै सहयोग जुटाउने कामलाई तीव्रता दिइएकाे एनआरएनए बताएकाे छ।

अमेरिकाको न्युयोर्कस्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका लम्सालको घरमै रहेको अवस्थामा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पतालमा पुर्‍याइएको थियो। केही समयमा नै अस्पतालले विपिन लम्साललाई मृत घोषणा गरेकाे थियाे। पोस्टमार्टम लगायतका कामहरू पूरा भएपछि आज विपिनको शव नेपाल पठाउन लागिएको हो। 

प्रकाशित मिति: : 2021-08-06 06:48:00

प्रतिकृया दिनुहोस्