मेलम्ची नदीमा डेढ महिनाको अन्तरालमा आएका दुइटा ठूला बाढीको निरीक्षण र प्रारम्भिक अध्ययन गरेपछि विज्ञहरूले अब नेपालका उच्चपर्वतीय भेगमा सयौँ वर्षदेखि जम्मा भएको गेगरानको अध्ययन आवश्यक भएको औँल्याएका छन्।
कहालीलाग्दो बाढीको कारण तथा प्रभावबारे अध्ययन गरिरहेका विज्ञहरू उक्त विपद् केवल यो वर्षको वर्षा वा केही महिनामा विकसित परिस्थितिबाट उत्पन्न नभएको सङ्केत पाइएको निष्कर्षमा पुगेका छन्।
उनीहरूले त्यसको कारण पत्ता लगाउन लामो समयअघिको भौगर्भिक अवस्थिति र घटनाक्रमको अध्ययन र मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।
खासगरी उच्च हिमाली भेगमा मानवबस्ती भएका क्षेत्रभन्दा माथि र हिमताल एवं हिमनदी भएका क्षेत्रभन्दा मुनि सयौँ वर्षदेखि गेगरान थुप्रिने गरेको बताइन्छ।
“त्यसमा आइरहेका परिवर्तनसँग मात्र यति ठूलो विपद्को आकार जोडिन्छ,” त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानमा प्राध्यापनरत भूगर्भशास्त्री वसन्तराज अधिकारीले बीबीसीसँग भने।