पोखराको पुरानो बस्ति हो– भैरव टोल। विन्धबासिनी बायाँ लागेर तल्तिर झर्दै गर्दा भैरव टोल पुग्ने बित्तिकै पुरानो घरको भित्तामा लेखेको देखिन्थ्यो, ‘उहिलेको पोखरा, ऐतिहासिक पुराना फोटोहरुको प्रदर्शन कक्ष’।
अरु ऐतिहासिक पाटोबारे पनि थाहा नलाग्ने त होइन। विशेष गरि पोखराको हिजो र आजको परिवर्तन यहाँ छिमल्न सकिन्थ्यो। तर, यो प्रदर्शनी कक्ष हिजोआज बन्द छ। न भित्तामा टाँगिएको बोर्ड नै छ। ढोकामा भोटे ताल्चा लगाइएको छ।
सुरु सुरुमा धेरैलाई वास्ता भएन। होस् पनि कसरी ? सकभर मान्छेको सम्पर्कबाट जोगिनु जो छ। कामै परेर बारिह निस्किन पनि डर छ। त्यसैले पनि वास्ता भएन। दुई, चार चोटी ओहोरदोहोर गर्दा बल्ल दिमागमा क्लिक भयो, प्रदर्शनी कक्ष खोई ? निषेधाज्ञा छ। तर, ताल्चा मात्रै लाग्नु पर्ने ? बोर्ड नै गायब भएपछि सोधीखोजी त गर्ने पर्याे।
भएछ, के भने ‘उहिलेको पोखरा’ फोटो प्रदर्शनी कक्ष साँच्चिकै बन्द भएको रहेछ। यतिका धेरै लामो समयको लकडाउनले फोटोहरुमा ढुँसी लाग्ने डरले प्रदर्शनी कक्ष बन्द गरिएको रहेछ। ‘उहिलेको पोखरा’ प्रदर्शनी कक्षको भित्री कथा पुराना फोटो संकलनमा रुचि राख्ने पोखराका सुनील उलकको सक्रियतामा यो प्रदर्शनी कक्ष सुरु भएको थियो।
सुनीलले आफ्ना बाबु जगन्नाथ उलकको नाममा जगन्नाथ उलक स्मृति कोष खडा गरि यो कक्ष सञ्चालनमा ल्याएका थिए। पारिवारिक लगानीमा खडा गरेको यो प्रदर्शनी कक्ष ३ वर्ष अघि ०७५ मंसिरबाट सञ्चालनमा आएको थियो। उलक परिवारले नै हेरचाह गर्दै आएको प्रदर्शनी कक्षमा विभिन्न कालखण्डमा सुनील र विदेशी घुमन्तेले खिचेका फोटोहरु राखिएका थिए।
उसो त सुनील आफै पनि एउटा संग्रहालय हुन्। सामाजिक सञ्जालमा सक्रिय सुनील दिनहूँ जसो पुराना फोटोहरु फेसबुकमा राख्छन्। फोटो मात्रै राख्दैनन्। फोटोसँग सम्बन्धित सबै जानकारी पनि दिन्छन्।
सुनीलले पछिल्लो ४ घण्टा अघि मात्रै तत्कालीन सगरमाथा अञ्चलका ०२२ देखि ०३० भित्रका महिलाहरुको फोटो सार्वजनिक गरेका छन्। उनले सार्वजनिक गरेका फोटोमा त्यो समयको झल्को पाउन सकिन्छ। सँगसँगै फोटोसँग सम्बन्धित दिइने जानकारीले फोटोको महत्व समेत बढाइ दिन्छ।
सुनीलका बुवा जगन्नाथ उलक पोखराका पहिलो व्यवसायीक फोटोग्राफर थिए। बुवा जगन्नाथ उलकबाटै आफूमा पुराना बस्तु संकलन गर्ने सोख पलाएको थियो रे ! बुवाले पुराना सामान पछि गएर काम लाग्छ भनेको सुनील अझै सम्झिन्छन्।
स्कुले जीवनमा दाजुहरुले हुलाक टिकट, चुरोटको बट्टा, बोत्तलका खाली बिर्कोहरु जम्मा गरेको देखेर नै सुनीललाई पुराना बस्तु संलकन गर्ने जाँगर बढेको रहेछ। पछि दाजुहरुले पुराना सामान संकलन गर्नै छाडे। बिचमा उनको पनि जोश त्यत्तिकै रह्यो। बुवाले खिचेका हजार बढी फोटो र नेगेटिभ जलाएर फालेकोमा अहिले सुनील पछुतो गर्छन्।
अमेरिकी भोलेन्टियर र मानवशास्त्री तथा पुरातनविद् योहान रेयनहर्ड उनको संग्रहका मुख्य श्रोत हुन्। अमेरिकी भोलेन्टियरका २१ ह्जार बढी र योहानका ४ हजार ६ सय बढी फोटो संग्रह उनीसँग छ। अहिले उनीसँग १ लाख बढी फोटो छन्। त्यसमा २० हजार बढी त उनैले खिचेका छन्।
फोटोसँग सम्बन्धित सबै जानकारी पनि उनले संग्रह गरेका छन्। फोटो मात्रै नभएर पुराना किताबहरुको संग्रह पनि सुनीलसँग छ। सामाजिक सञ्जाल फेसबुकमा फोटो पोष्ट् गर्दा कुनै कुनै फोटो त यस्ता पनि पर्छन्। सुनीलले पोष्ट् गरेको फोटो परिवारले पनि हराई सकेको हुन्छ। यस्ता फोटोहरु आफन्त जनले माग्ने गरे पनि सुनीलले केही शुल्क दिएर लैजान आग्रह गर्छन्। संग्रहालय सञ्चालनको सहयोग स्वरुप। तर, धेरैले सामाजिक सञ्जालबाटै फोटोहरु सेभ गरेर शुल्क तिर्दैनन्।
‘त्यो फोटो मैले सुरक्षीत राखेको हुन्छु। परिवारले बिर्सि सकेको हुन्छ। थोरै सहयोगका लागि दिनुस् भन्दा, उहाँहरुले तिर्नुहुन्न,’ उनले भने, ‘इन्टरनेटबाटै सेभ गर्नुहुन्छ। त्यत्तिकै हराउनुहुन्छ। त्यो फोटोको पैसा यत्तिकै लिएको त होइन, त्यसलाई सुरक्षीत राखेको छु। दिने बेला फ्रेमिङ गरेर दिने हो, त्यसमा पनि खर्च हुन्छ।’
मेयर मानबहादुर जीसीले उद्घाटन गरेको यो प्रदर्शनी कक्ष सञ्चालनका लागि आनन्दराज मुल्मीले ठाउँ दिएका थिए। नयाँ पुस्तालाई दिनका लागि पुरानो समय संग्रह गरेर राख्दै आएका सुनील अब आफ्नै घरमा फोटो प्रदर्शनी कक्ष सञ्चालनमा ल्याउने तयारीमा छन्।