लुम्बिनीः विमला वलीकाे 'कमब्याक'ले पनि सरकार खतरामै, बन्ला त गठबन्धनकाे सरकार ? (यस्ताे छ अंकगणित)

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले माओवादी केन्द्रका नेता अमिक शेरचनलाई प्रदेश प्रमुख बनाएर लुम्बिनी पठाएपछि यहाँको सरकार र राजनीतिका फेरबदल सुरु भएको छ।

जसपाले आफ्ना तीन नेताहरु कल्पना पाण्डे लम्साल, सन्तोषकुमार पाण्डे र विजय यादवलाई सांसदबाट हटाएपछि लुम्बिनी सरकार अल्पमत परेको देखिएको छ।

८७ सदस्यीय प्रदेशसभामा हाल ८० जना सांसद छन्। मुख्यमन्त्री पोखरेललाई सरकार जोगाउन ४१ सांसदको आवश्यक पर्छ। तर, जसपाले तीन नेता हटाएपछि भने उनीसँग अब एमालेका ३८ जना सांसद मात्रै छन्।

त्यसो त एमालेबाट माओवादीमा गएको भनिएकी सांसद विमलाकुमारी वली पुनः एमालेमै फर्किएकी छन्। उनी फर्किए पनि मुख्यमन्त्री पोखरेलसँग ३९ सांसदमात्र हुन्छन्। उनी अल्पमतमै पर्छन्।

तर, यसले विपक्षी गठबन्धनलाई भने ठूलो नोक्सान पुर्याउँछ। किनकि वली कै कारण गठबन्धनसँग ४० सांसद मात्र छन् र  बहुमत पुर्‍याउन सक्दैन।

र पनि, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले नयाँ सरकार बनाउन गृहकार्य सुरु गरिसकेका छन्।

यहाँसम्म कि उनीहरुले नव नियुक्त प्रदेश प्रमुख अमिक शेरचनलाई समेत मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेको जानकारी दिदै दबाब सिर्जना गरिरहेका छन्। 


माओवादीसँग सम्पर्कविहिन भएर एमालेमै फर्किइन् विमला वली

वलीले दुईमहिनाअघि एमाले छाडेर माओवादी प्रदेश संसदीय दलका नेता कुल प्रसाद केसीलाई पत्र लेख्दै आफू माओवादी केन्द्रमा प्रवेश गरेको जानकारी गराएकी थिइन्।

उनले दाङबाट प्रदेशसभा ३ (ख) बाट नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन्। उनी स्वर्गीय प्रदेशसभा सदस्य उत्तरकुमार वलीकी पत्नीसमेत हुन्।

प्रकाशित मिति: : 2021-08-02 10:37:00

प्रतिकृया दिनुहोस्