१७ साउन, काठमाडौं । राजनीतिक दल र नेताहरू छिटोछिटो बैठक बसिरहेका छन् । विभिन्न तह र स्तरमा बैठकदेखि बैठकसम्म चलिरहेका हुन्छन् । बैठकको ‘तारेख’ धान्ने दौडमा रहेका नेताहरु सधैं हतारमा देखिन्छन् । एकपछि अर्को बैठकमा दलका नेतृत्व अत्यधिक व्यस्त हुन्छन् ।
तर यसरी दिनदिनै बस्ने बैठकका एजेन्डा र कार्यसूचीमा नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने एजेन्डाहरु नगन्य मात्रै पर्छन् । बैठकमा दलगत, गुटगत र व्यक्तिगत स्वार्थका रोटी सेक्ने काम भइरहन्छ । यस्तो लाग्छ- दलीय कलहको भान्छामा चुलो कहिल्यै निभ्दैन । तर, मेनुमा नागरिकका एजेन्डा र सवालहरुले खासै प्राथमिकता पाउँदैनन् ।
कम्युनिष्ट कलह
कम्युनिष्टहरु पार्टी जीवनमा हुने अन्तरसंघर्षलाई तीन तहमा बाँडेर बुझ्छन् । आफैंसँगको संघर्ष- आत्मसंघर्ष, पार्टीभित्रको संघर्ष-अन्तरसंघर्ष र प्रतिपक्षी शक्ति अर्थात् फरक विचारसँगको संघर्ष- वर्ग संघर्ष ।
कम्युनिष्ट नेताको आत्मसंघर्ष एकादेशको कथाजस्तै हुन लागिसक्यो । उनीहरु विरलै ऐना हेर्छन् । ऐना त हेर्छन् तर अनुहार मात्र । वर्ग संघर्ष आजकल अलपत्र छ । दल र नेताहरुको भीडमा मिसिएका मानिसहरुको फरक छुट्याउन मुस्किल छ । कुन पार्टी कुन वर्गको प्रतिनिधि भनेर छुट्याउनै सकिन्न ।
कम्युनिष्टहरुको लामो समय अन्तरसंघर्षमा बितिरहेको हुन्छ । त्यो हो पार्टीभित्रैका नेताहरुबीचको संघर्ष । संघर्षले रुपान्तरणको माग गर्दछ तर कलहले विध्वंश र विघटन ।