माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमालेका वरिष्ठ नेता माधव नेपालले सबैभन्दा अफ्ठ्यारो समयको सामना गरिरहेको बताएका छन्।
कोटेश्वरमा नेता नेपाललाई भेटेर फर्किएपछि प्रचण्डले माओवादी स्थायी कमिटी बैठकमा यस्तो बताएका हुन्। उनले भने,'मैले बिहान उहाँसँग गम्भीर रुपमा छलफल गरेँ। उहाँ निकै अफ्ठ्यारो अवस्थामा हुनुहुन्छ।'
उनले थप्दै भने,'पार्टी विवादले उहाँ तनावमा हुनुहुन्छ। पार्टीमा दोस्रो अध्यक्ष बने पनि ओलीसँग सहकार्य गर्न चाहनुभएको छैन।'
उनले एमालेभित्रको विवादले माधव समूह तत्काल सरकारमा सहभागी नहुने अवस्था देखिएको पनि बताए।
'माधव समूहसहितको सरकारको डिजाइन गरेका थियौँ, तर अब उहाँ पार्टी विवादले तत्काल सरकामा नआउने अवस्था छ। नयाँ गृहकार्य गर्नुपर्ने देखियो।', उनले भने।