डा. दामोदर पुडासैनी किशोर
भर्खरै ओलम्पिक (सन् २००८ मा चीनमा भएका) खेल सकिएको र तिब्बतमा ‘स्वतन्त्र तिब्बत अभियान’ले खैलाबैला मच्चिएकाले विदेशीलाई तिब्बत छिर्ने ढोका बन्द गरेको जानकारी पाइयो, हुम्लामै। तिब्बत प्रवेश अनुमति नपाएपछि कैलाश–मानसरोवर पुग्ने कुरै भएन। तिब्बतीद्वार खुलेको भए हुम्ला हुँदै त्यहाँ पुग्ने विदेशीको ताँती चल्थ्यो।
जिल्लाका सम्पूर्ण कार्यालयका काम–कारबाही एक महिनामा केलाउनपर्ने बाध्यताले मैले त्यताको यात्राका लागि १०–१२ दिन छुट्ट्याउन सकिनँ। अविरल बर्सिरहेको हिउँले बाटोघाटो अवरुद्ध थियो।
‘खास कैलाश त रल्लिङ हो रल्लिङ। तिब्बतमा पर्ने कैलाश त रल्लिङ पछिको पो हो,’ हुम्लाका धेरै मान्छेको मुखबाट सुनेँ, ‘रल्लिङ आस्थाको शैलाधिप हो। आशाको शैलशिखर हो। उमंगको शैलकूट हो। शीतोपचारको अखण्ड शीताद्रि हो।’
त्यसो हो भने किन खेर फालौँ यो अवसर ? रल्लिङ जाने निधो भयो।
फेरि हुम्लाभर हिमपातको ओइरो चल्यो। हुम्ला एयरपोर्ट चिराचिरा भयो। रल्लिङ पुग्ने सपना पहिरोमा पुरिने हो कि ? एउटा अव्यक्त डरले छोपिरह्यो मनलाई।
‘जान सकिन्छ र ? हिउँले बाटैमा अप्ठेरो पार्ने हो कि ?’ महिला विकास अधिकृत विष्णुमाया पौडेलजीले अघिल्लो दिनै आशंका पोख्नुभयो। ‘हिमवर्षा रोकियो भने जसरी पनि जानुपर्छ है,’ विष्णुजी र उच्च पहाडी गरिबी निवारण परियोजनाका सदस्यसचिव जंगबहादुर रोकायाको कुरा मिल्यो। जिल्ला विकास समितिकै विशाल बोहोरा र सुमन भण्डारी पनि हाम्रो यात्रालाई सहवरण गर्न चाहनुहुन्थ्यो। अपराह्न २ बजे रल्लिङका लागि रन्को छाड्ने सल्लाह थियो। पौने २ हुँदा पानी दर्कियो।