यसरी बन्याे बाग्लुङमा २८० केजीकाे नगरा (तस्वीरहरू)

बाग्लुङकाे काठेखोला गाउँपालिका–४ तङ्ग्राममा २८० किलोको नगरा निर्माण गरिएको छ। गाउँमैत्री अक्षयकोषले त्यसलाई ‘देशकै ठूलो’ नगरा भनेर दाबी गरेको छ। 

कला, सङ्गीत र साहित्यको संरक्षणमा क्रियाशील अक्षयकोषद्वारा निर्माणाधीन लोकबाजा सङ्ग्रहालयमा विशाल दमाहालाई राखिने छ। 

अक्षयकोषका अध्यक्ष हेमराज आश्रमका अनुसार नगरामा २२२ किलो तामा र १५ किलो फलाम प्रयोग भएको छ। सात फिट गोलाइ रहेको नगरालाई मोड्न एक हजार ४०० फिट छालाको तुना लागेको उहाँको भनाइ छ। स्थानीय कालीगढले १८ दिन लगाएर नगरा निर्माण गरेका थिए।

नगरालाई चाहिने भैँसीको छाला भारतको बिहारबाट ल्याइएको अध्यक्ष आश्रमले बताए। यहाँ पाइने भैँसीको छाला सानो भएकाले भारतबाट झिकाइएको हो।

नगरा निर्माणका क्रममा कालीगढ रवीलाल, जरसिँह विकले तामा र लालबहादुर किसान, जगबहादुर र सरबहादुर विकले छालाको काम गरेका थिए। नगरा बनाउँदा कालीगढ र सहयोगीसमेत गरी ५० जना खटिएका थिए।

फाेटाे: हेमराज आश्रम

प्रकाशित मिति: : 2021-07-30 18:03:00

प्रतिकृया दिनुहोस्