नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अमेरिकी परियोजना एमसीसीबारे सरकारले राष्ट्रलाई घात हुने गरी गोप्य सम्झौता गर्न लागेको आशंका व्यक्त गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा शुक्रबार बोल्दै उनले एमसीसीसँग जोडिएका सबै पूरक सम्झौता प्रतिनिधिसभामै पेश गर्न मागसमेत गरेका हुन्।
'एमसीसीको मूल सम्झौता मात्रै यहाँ पेश भएको छ', सरकारलाई खबरदारी गर्दै उनले भने, 'सम्बन्धित पुरक सम्झौताहरु पनि तत्काल सार्वजनिक गरियोस्।'
एमसीसी संशोधनबिना नै अनुमोदन भएमा देशप्रति कुठाराघात हुने र सम्झौताको प्रत्येक दफा अध्ययन गर्दा गम्भीर प्रश्नहरू उठ्ने ठाउँ रहेको उनकाे टिप्पणी छ।
यस विषयमा सबै सचेत रहनुपर्ने भन्दै उनले जिकिर गरे, 'एमसीसीका कतिपय प्रावधान नेपालको कानून र संविधानसँग बाझिन्छन्। नेपाली जनताका सार्वभौम अधिकारमाथि कुठाराघात गर्ने कुरा स्वीकार गर्न सकिँदैन।’