देश विकासमा गरिब नेपालीको भूमिका

अनुशा थापा

भक्तपुर

कुनै पनि महिलाको गर्भमा भ्रूणले बास लियो भने अस्पताल गएर परीक्षण गराउनु जरुरी हुन्छ। अस्पतालमा परीक्षण गराउँदा पनि राज्यलाई राजस्व तिर्नुपर्छ। कुनै पनि महिलाले गर्भधारण गर्नु भनेको देश विकासको सम्भाव्यता दर्शाउनु हो।

बच्चा कोखमा आउनेबित्तिकै सरकारले राजस्व लिन सुरु गर्छ। ऊ जन्मिएदेखि प्राण रहुञ्जेल उसले राज्यलाई कर तिर्छ। मान्छे जन्मपछि नमरुन्जेल निकै संघर्ष गर्नुपर्छ। उसबाट उसको परिवार, नातादारले धेरै आशा राखेका हुन्छन्।

ठूलो भइसकेपछि उसले पनि आफ्नो परिवारको आवश्यकता पूरा गर्न कुनै कसर छाड्दैन। उसले नेपालको संविधानअनुसार शिक्षा, स्वास्थ्य आर्जन गर्न पाउनुपर्छ। शिक्षा र स्वास्थ्य आर्जन गर्न लागि ऊ अघि बढ्छ। अनि उसलाई देश विकास गर्नुपर्छ र परिवारको हरेक जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने कुराको अनुभूति हुँदै जान्छ।

शिक्षा, स्वास्थ्य भनेको हरेक नागरिकले समान रुपमा पाउनुपर्छ तर शिक्षा, स्वास्थ्यका अधिकार धनीका छोराछोरीले सजिलै प्राप्त गर्न सक्छन् तर गरिब र कम आय हुने बाबुआमाको छोराछोरीका लागि यी अधिकार पाउनु देउता खोज्नुजत्तिकै कठिन छ।

आर्थिक स्तरले सम्पूर्ण रुपमा भरिभराउभएको परिवारमा जन्मिएको बालबालिकाले त सम्पूर्ण सेवा सुविधा पाँउछन् तर बिहान–बेलुकी छाक टार्न पनि कत्ति बाबु आमालाई निकै धौ–धौ परिरहेको हुन्छ। छाक टार्न धौ–धौ छ। छोराछोरी कसरी पढाउने भन्ने स्थिति अझै पनि कत्ति घरपरिवारको छ।

यसरी हाम्रो देशको बालबालिकाहरु शिक्षा पाउनबाटै बञ्चित छन्। अनि रोजगारी कसरी प्राप्त गर्नु ? गरिबीको अर्थ नै शिक्षाबाट बञ्चित हुनु हो। शिक्षाबाट बञ्चित हुनु भनेको देशमा बेरोजगारीको संख्या बढ्नु हो।

शिक्षाको अभावको कारणले ऊ आफ्नो जन्मथलो छोडेर बाहिर जान सक्दैन। ऊ आफ्नै पुर्खाले जोडेको भूमिमा बस्छ, त्यही भृमिमा रमाउँछ र त्यही आफ्नो प्रण त्याग्छ।

यस अवधिमा उसले खाई–नखाई, जिउमा एकजोर वस्त्र नहाली राज्यलाई कर तिर्छ। राष्ट्रप्रतिको आफ्नो जिम्मेवारी बहन गर्छ र उसले संसार त्याग्छ। सरकारले पनि जिन्दगी चलाउन आवश्यक पर्ने शिक्षाजस्तो आधारभूत तत्व दिनलाई किन हिच्किचाएको होला?

जो मान्छे सम्पन्न परिवारमा जन्मिन्छ, उसलाई त दुःख भनेको थाहा नै हुँदैन। मुखबाट भुइँमा बोली खस्न नपाउँदै उसको सम्पूर्ण आवश्यकताको परिपूर्ति भई हाल्छ। राम्रो स्कृल पढ्छन् र आफ्नो डिग्री हासिल गर्न आफ्नो देश छाडेर अन्य देशमा जान्छन्। उतै बसेर आफ्नो पढाई पूरा गर्छन्।

देश र आफ्नो जन्म दिने बाबुआमालाई बिर्सिन्छ र नेपालको नागरिकता त्यागेर त्यहीको नागरिक बन्नुभन्दा अगाडि उसले एक छिन पनि सोच्दैन। आफू त बाहिर गएर ‘सेटल’ हुन्छ नै, आफ्नो बाबुआमाको नेपालमा भएको जायजेथा बेचेर पनि तै लैजान्छ।

सरकारले नेपालको नागरिकता त्यागेर अन्य देशको नागरिक बनेकाहरुलाई नेपालको सम्पत्ति लैजान दिनुहुँदैन। उसको नाममा भएको सम्पत्ति राष्ट्रियकरण गर्नुपर्छ। ऊ त्यहाँको सुविधासम्पन्न जीवन छोडेर नेपाल फर्किन चाहँदैन। त्यस्ता नागरिकहरुप्रति राज्यले लगानी त गर्छ तर त्यसको फल राज्यले पाउँदैन।



नेपाल खुला दिसामुक्त मुलुक कहिले बन्ने ?

कर्मचारीको मनपरीतन्त्र, सरकार मूकदर्शक



शिक्षित नेपालीहरु चाहिँ आफ्नो देश छोडेर अन्य राष्ट्रमा सुविधा खोज्दै हिँड्ने, अनि हाम्रो राष्ट्रको विकास चाहिँ कसले गर्ने ? हाम्रो देश विकास हुन नसक्नेको प्रमुख कारण पनि बाहिरी मुलुकतिर युवाको आकर्षण बन्नपुगेको छ।

नेपालमा भनेको र आफ्नो क्षमताअनुसारको जागिर पाइँदैन भन्ने मानसिकता अहिलेको अधिकांश युवा पिढीमा छ। राष्ट्रप्रति आफ्नो कर्तव्य र जिम्मेवारी बहन गर्न नसक्ने अनि हाम्रो राष्ट्रको राजनीति यस्तो र उस्तो भनेर अरुको देशमा गएर योगदान पु-याउने ?

यदि उनीहरुले– म आफ्नै देशमा बस्छु, आफ्नै देशमा लगानी गर्छु। आफ्नै देशमा रगतपसिना बगाउँछु, म नेपालमै बसेर आफ्नो र नेपालीजनताको हितमा काम गर्छुभन्दा खेरि न त्यसलाई नेपालको जनताले छेक्छन् न त यहाँको राजनीतिले। विदेश जान लाग्ने खर्च नेपालमै लगानी गर्ने हो भने एउटा व्यवसाय सजिलै सञ्चालन गर्न सकिन्छ।

‘खाने मुखलाई जुँगाले छेक्दैन’ भनेजस्तै म यो काम गरेरै देखाउँछु भन्ने आत्मविश्वास भएकोहरुलाई पनि कसैले रोक्न सक्दैन्। आफू केही गर्न नसक्ने अनि राज्यलाई दोष दिएर विदेश गएर उतै स्थापित हुने ? यो त कत्तिसम्म लाज मर्दो कुरा हो।

एउटा नाबालकलाई नागरिकमा परिणत गर्न राज्यले अहम् भूमिका खेलेको हुन्छ। राज्यको भूमिकाप्रति नै अहिलेको युवा–युवतीप्रश्न उठाउन थालेका छन्। राज्यले गरेको काम र निर्णयप्रति चित्त बुझेन भने त्यससम्बन्धी खबरदारी गर्ने काम भनेकै अहिलेको पुस्ताको हो। सबै पढे–लेखेका, शिक्षित नागरिक बाहिर गएर अरुकै देशमा घरजम गरेर बस्ने हो भने यी नेताहरुलाई खबरदारी गर्ने काम कसले गर्छ ?

प्रकाशित मिति: : 2021-07-29 17:30:00

प्रतिकृया दिनुहोस्