महानगरपालिकाले कर नतिर्ने करदाताको घर, पसल र व्यवसायमा सिलबन्दी गर्दै

काठमाडौं महानगरपालिकाले तोकिएको समय अवधिभित्र कर नतिर्ने करदाताको घर सिलबन्दी गर्ने भएको छ। यसअन्र्तगत पसल र व्यवसाय पनि पर्न सक्नेछन्।

त्यसो त महानगरपालिकाले यसअघि असार १६ गते नै कर तिर्नका लागि ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो। सूचनाअनुसार अब कर तीर्ने सयम एक दिन मात्र बाँकी छ। तोकिएकाे समयमा कर नबुझाए घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने महानगरपालिकाले चेतावनी दिएको छ।

कर तिर्नका लागि भन्दै महानगरपालिकाले घरजग्गा र सम्पत्ति कर नबुझाउने २० ठूला करदाताको कार्यस्थलमा माइकिङसमेत सुरु गरिसकेको छ।

महानगरपालिकालाई करको विवरणसम्म नबुझाउने टूला करदातामा वडा १४ का आदर कम्प्लेक्स, कृषि सामग्री संस्थान र एलआरआइ स्कूल, वडा १५ को मनमोहन मेमोरियल कलेज एण्ड शिक्षण अस्पताल, वडा ३ का कान्तिपुर डेन्टल अस्पताल र चिरायु अस्पताल र वडा ४ का देवेन्द्र श्रेष्ठ छन्।

यसैगरी वडा २२ को आरबी कम्प्लेक्स, वडा २४ को सुरज आर्केट, वडा २९ को शुभश्री कोपर्रेटिभ लिमिटेड, वडा २८ का काठमाडौँ प्लाजा र नेपाल शेयर मार्केट र वडा ३० का गोपालजी प्रपर्टिज प्रालि र स्टार मल रहेका छन्।    

प्रकाशित मिति: : 2021-07-29 06:28:00

प्रतिकृया दिनुहोस्