पोखरेली पर्यटन : १० हजार बढी व्यवसायी पलायन हुने अवस्थामा

Breaknlinks
Breaknlinks

कोरोनाको दोस्रो लहरसँगै बन्द भएका होटल व्यवसायीलाई संक्रमण दर कम भएपछि सरकारले सञ्चालन अनुमति त दियो। तर, ५० प्रतिशत मात्रै।

होटलको कुल क्षमताको आधा मात्रै पाहुना राख्न पाउने गरि सरकारले सञ्चालन अनुमति दियो। सरकारको नयाँ निर्णयसँगै बन्द होटलका ताला त खुले। तर, व्यवसायी भने अझैं खुलेका छैनन्।

पहिलो लहरको लकडाउनमै मारमा परेका पर्यटन व्यवसायीलाई सरकारले न कुनै राहतको प्याकेज ल्यायो, न सुरक्षाका मापदण्ड अपनाएर वैकल्पिक उपाय नै खोज्यो।

होटल तथा रेष्टुरेण्ट धेरैजसो त पलायन नै भइसकेका छन्। पर्यटन क्षेत्रमा 'रजगज' जमाई रहेका होटल, रेष्टुरेण्टसमेत कर्मचारी कटौती गरेर ताला मात्रै खोल्ने अवस्थामा पुगेका छन्।

पर्यटन क्षेत्रको यस्तो हविगत पार लगाउन सरकारले कुनै चासो नदेखाएको व्यवसायीको गुनासो छ। अहिले खोलेका होटलहरुमा पनि काम विशेषले आउनै पर्ने ग्राहक मात्र आएका छन्। घुमफिरमा रुचि राख्नेहरु नआएको व्यवसायीहरु बताउँछन्।
‘पूरै होटल खोल्दा पनि होटल त प्याक हुन्न। अहिले त आधा मात्रै बुकिङ लिन प्रशासनको अनुमति छ,’ पश्चिमाञ्चल होटल व्यवसायी संघका अध्यक्ष विकल तुलाचनले भने, ‘अहिले आउने त कामै परेर, नआइ नहुने मात्रै हो। मान्छे धेरै सचेत भइसके। कामै परेर नआई नहुने मात्रै आएका छन्।’

यसअघि पहिलो लहरको लकडाउन खुकुलो भएसँगै पर्यटन क्षेत्र फेरि माथि उठ्ने आशा लिएका व्यवसायी दोस्रो लहर आएसँगै निकै समस्यामा परेको उनले बताए। स्वास्थ्य मापदण्ड अपनाएर होटल खोल्न पाए मात्रै उही लयमा फर्किने आश लिएका व्यवसायी अहिले भने होटल खोलेर मात्रै पर्यटक नआउदा रहेछन् भन्ने मनस्थिति पुगेका छन्।
खोपको माग राखेर सिडिओ कार्यालयसम्म पनि व्यवसायीहरु पुगेका थिए। यद्यपि, लक्षित वर्गले समेत नपाएको खोप व्यवसायीहरुले पाउने त कुरै भएन। ‘१३/१४ प्रतिशतले मात्रै खोप लगाएर त हुँदैन। पूर्ण खोप नपाउञ्जेल पूरानै अवस्थामा फर्किने त कुरै भएन। हामी पर्यटन व्यवसायी त झन् धेरै थरिका मान्छेसँग ठोक्किरहेका हुन्छौं,’ उनले भने।

अहिले खुलेका होटल पनि खोल्नका लागि मात्रै खोलिएको उनले बताए। 'होटल खोलेर सफा गर्ने मात्रै काम भइरहेको छ। अझैं पनि पर्ख र हेर भन्नेमै हो। भएका होटलहरु सबैले खोलिसकेका छैनन्,’ उनले भने।
अघिल्लो लहरको महामारीमा ३० प्रतिशत व्यवसायी पलायन भएका थिए। अहिले जेनतेन सञ्चालन भइसकेका होटलले समेत कर्मचारीको संख्या धमाधम घटाइरहेका छन्। ‘५० जना राख्नेले १० जना मात्रै राखेका छन्। १० जना कर्मचारी राख्नेले ३ जनामा कटौती गरेका छन्। अहिले खोलेर सरसफाई मात्र गर्ने काम भएको छ’, उनले भने।

१५ हजार मजदुरले रोजगारी पाइरहेको लेकसाइडमा बाह्य चहलपहल देखिए पनि पर्यटकहरुको आगमन शून्य छ। पहिलो लकडाउनमा बिदामा पठाएका कर्मचारी बोलाएर पुनः काममा फर्किने कोसिस गरे पनि अहिले ६० प्रतिशत बढी पर्यटन क्षेत्रका कर्मचारी पलायन भइसकेका छन्।
३ देखि ४ अर्ब हाराहारीको लगानी रहेको पोखरेली पर्यटनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा ७५ हजार बढीले रोजगारी पाइरहेका थिए।

कोरोना महामारी सुरु हुनुअघि व्यवसायीहरु 'भिजिट नेपाल २०२०' को तयारीमा थिए। 'भिजिट नेपाल २०२०' मुखैमा आउदा महामारी व्यहोरेका १० हजार बढी नीजि व्यवसायी अहिले पलायन हुने जोखिममा पुगेका छन्। पोखरेली पर्यटन पुर्ण खोपको व्यवस्था नभएसम्म तंग्रिने अवस्थामा छैन।

प्रकाशित मिति: : 2021-07-30 20:10:00

प्रतिकृया दिनुहोस्