चन्द्रमामा मानव पाइलाको ५२ वर्ष : रुस र अमेरिकाको होडबाजीले प्रविधिमा क्रान्ति

यसरी सम्झन्छन् त्यति बेला रुसमा रहेका नेपाली प्रा. डा. सीताराम ब्याहुत

बाह्रखरी

काठमाडौं

त्यति बेलाको सोभियत युनिएन र हालको रुसले विश्वमै पहिलो भूउपग्रह ‘स्पुतनिक–वान’ अन्तरिक्षमा छाडेर संसारमा सनसनी फैल्यायो । यो घटना थियो, सन् १९५७ अक्टोबर ४ को ।

त्यो समाचार सुनेर उत्साहित थिए, बाराको कलैयामा जन्मेका सीताराम ब्याहुत । त्यति बेला न त उनलाई अन्तरिक्षबारे कुनै जानकारी थियो, न त शक्तिशाली देश सोभियत युनियनबारे नै । उनी सम्झन्छन्, “हाम्रोमा टेलिभिजन थिएन, रेडियो मात्रै । त्यो पनि तीनजनाको घरमा मात्रै ।”

रक्सौलको रेलवे स्टेसनमा ब्याट्री चार्ज गरेर ल्याई रेडियो बजाउँथे । रेडियोको प्रयोग बढी समाचार सुन्नलाई हुन्थ्यो । कलैयामा उति बेला रेडियो नेपाल केहीले मात्र सुन्थे । धेरैले रेडियो पटना सुन्थे । “हाम्रो नेताको भन्दा जवाहारलाल नेहरू र भारतीय नेताको भाषण बढी सुन्थ्यौँ,” उनले सुनाए ।

त्यति बेला कलैयामा नेपाली पत्रिका गोरखापत्र आउँदैनथ्यो । वीरगन्जसम्म गोरखापत्र आउने गरेको उनलाई अझै याद छ । तर, कलैयामा धेरैजसो हिन्दी पत्रिका भेटिन्थ्यो, पटनाबाट प्रकाशित ।

उनले स्पुतनिकको परिक्रमा त्यही रेडियो पटनाबाट सुनेका थिए । त्यो बेला उनको उमेर ६ वर्ष तीन महिना थियो । त्यो घटनाले अमेरिकालाई स्तब्ध बनायो । त्यसपछि अमेरिका र रुसबीच अन्तरिक्षमा को पहिले पुग्ने भनेर ‘स्पेस रेस’ अर्थात् होडबाजी नै सुरु भयो ।

प्रकाशित मिति: : 2021-07-28 15:11:00

प्रतिकृया दिनुहोस्