खेल्दै, खेलाउँदै, संगीतमा झुम्दै अनिताको पिङपङ एरोबिक योजना

पहिलोपोष्ट

काठमाडौं

काठमाडौं : सामाखुशीको सरकारी धारा नजिकै एउटा घरमा हरेक बिहान बालबालिकाको हल्लाखल्ला सुनिन्छ। फरकफरक समूहमा विभाजित बालबालिका खेलिरहेको ठाउँबाट 'टक-टक' आवाज आइरहन्छ। साना नानीमात्र होइनन्, युवा खेलाडीहरु पनि पिङपङ खेल्न तम्तयार देखिन्छन्। पिङपङ अर्थात टेबल टेनिस।

घरको ग्राउण्ड फ्लोअरमा चलिरहेको प्रशिक्षणको माहोल अरुतिरको भन्दा फरक लाग्छ। सानासाना बालबालिकाको एउटा समूह, त्यस पछि अलि ठूलाहरुको अर्को समूह। सबै व्यस्त देखिन्छन्।

पिङपङ खेल्नुअघि क्लबमा उनीहरु व्यायाम गर्छन्। संगीतको धुनसँगै फरक किसिमको अभ्यास चल्छ जसलाई एरोबिक भनिन्छ। त्यसपछि मात्रै सुरु हुन्छ, खेलको अभ्यास। पालैपालो समूह बनाएर अभ्यास गर्छन् यहाँ पुग्नेहरु। बास्केटमा भएका बलहरु सबै भुइँमा झारिसक्छन्। अनि फेरि टिपेर त्यसमै राख्छन्। अनि अर्को समूहको पालो आउँछ। र, अभ्यास चलिरहँदा उनीहरूसँगै व्यस्त रहन्छिन् राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी अनिता महर्जन।

र, बिहानैदेखि खलबल सुनिने अभ्यास स्थल उनकै घर। उनले बिहान र बेलुका आफ्नै घरको ग्राउण्ड फ्लोरमा बालबालिकाहरुलाई खेल सिकाउँदै आएकी छिन्। १४ औं सागमा स्वर्ण पदक हात पार्ने सपना देखेकी २९ वर्षीया उनी क्लबलाई अझ बढाएर ठूलो एकेडेमीको योजना बुनिरहेकी छिन्।

प्रकाशित मिति: : 2021-07-28 09:15:00

प्रतिकृया दिनुहोस्