महमा कुन कुन वनस्पतिका परागकण छन्, के कस्ता रसायन छन् र त्यो कुन भूगोलको हो भन्ने विषयमा गरिने अध्ययनले ठाउँविशेषमा कुन कुन वनस्पति प्रजाति छन् भन्ने पनि थाहा हुन्छ।
मानिस र प्रकृतिका लागि उपयोगी जीव हो, मौरी। यसले मह र मैन दिन्छ भने वनस्पतिको परागसेचनमा पनि भूमिका खेल्छ। संसारभर मौरीका आठ प्रजाति छन्, यस अन्तर्गत करीब तीन दर्जनभन्दा बढी उप–प्रजाति अस्तित्वमा छन्। मौरीले फूलबाट मह र परागकण संकलन गर्छ। महमा फूलको गुलियो रस, परागकण, उन्यू, एल्गी र फंगल स्पोर आदि हुन्छन्।
ग्रीक भाषामा मौरीलाई मेलिसा भनिन्छ। वैज्ञानिक वर्गीकरण अनुसार, मौरी एपिस जाति अन्तर्गतको कीरा हो। घर मौरीको एक प्रजातिको वैज्ञानिक नाम एपिस मेल्लीफेरा राखिएको छ। ‘मेल्ली’ ले मह र ‘फेरिइ’ ले बोक्ने भन्ने अर्थ दिँदो रहेछ। नेपालमा घर मौरीका दुई प्रजाति एपिस फ्लोरिआ र एपिस सेराना छन्। एपिस मेल्लीफेरा चाहिँ हामीकहाँ आयातीत प्रजाति हो।
रूखका हाँगामा बाहिर नै घार बनाउने मौरी एपिस डोर्साटा हो। जूकिज जर्नलको २२ जुलाई, २०२० को संस्करणमा छापिएको लेख अनुसार, नेपालमा पाइने भीर मौरी एपिस ल्याबोरिओसा समुद्री सतहबाट १ हजारदेखि ३ हजार मिटर उचाइसम्म पाइन्छ।
ग्रीक भाषामा परागकणलाई ‘पालुनो’ भनिन्छ। यसैबाट परागकण अध्ययन गरिने शाखाको नाम पालिनोलोजी बनेको हो। स्पोर (बीजाणु) को अध्ययन पनि पालिनोलोजी अन्तर्गत नै पर्छ। जमीनमा हुने वनस्पतिका परागकण तथा उन्यूका स्पोर यति कडा हुन्छन्, ती हत्तपत्त सड्दैनन्। अनुकूल वातावरण भए जीवाश्म नै बन्छन्।
वनस्पतिको फूलमा हुने परागकणका कारण मह पौष्टिक मानिन्छ। परागकणमा भएका रसायन मानव स्वास्थ्यका निम्ति फाइदाजनक हुन्छ। वनस्पति प्रजातिको विविधता भूगोल अनुसार फरक हुन्छ। महमा कुन कुन वनस्पतिका परागकण छन्, महमा के कस्ता रसायन छन् र त्यो कुन भूगोलको हो भन्ने विषयमा गरिने अध्ययनलाई मेलिसोपालिनोलोजी भनिन्छ। यस्तो अध्ययनले ठाउँविशेषमा कुन कुन वनस्पति प्रजाति छन् भन्ने पनि पत्तो लाग्छ।