जसपा विवाद: आधिकारिकता टुंगो लगाउन निर्वाचन आयोगमा आज नेताको ‘हेड काउन्ट’ हुने

जनता समाजवादी पार्टी (जसपा) भित्र देखिएको आन्तरिक विवाद समाधान गर्न निर्वाचन आयोगले दुबै पक्षलाई बोलाएको छ।

पार्टी अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवसहित केन्द्रीय कार्यकारिणी समितिका सबै सदस्यहरूलाई आज (सोमबार) आयोगले बोलाएको हो।

५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति रहेकाे जसपामा अध्यक्ष यादवले आफू पक्षमा बहुमत रहेकाे दाबी गर्दै आएका छन्। ठाकुर पक्षले पनि जसपा आफूहरूकाे हुनुर्ने दाबी गर्दै आएकाे छ। जसका कारण पार्टीकाे आधिकारिकताका विषयमा जसपा विवाद छ। साेही विवाद सुनुवाइका लागि आयाेगले केन्द्रीय कार्यकारिणि समितिका सदस्यलाई बाेलाएकाे हाे।

आयाेगले कार्यकारिणी सदस्य बाेलाएकाेमा त्यसविरूद्ध ठाकुरले सर्वाेच्चमा अदालतमा रिट हालेका थिए। आइतबार सर्वाेच्चले  उनकाे माग बमाेजिम अन्तरिम आदेश दिएन। सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलासले ठाकुरको मागबमोजिम अन्तरिम आदेश नदिने निर्णय गरेको थियाे। 

आयोगले कार्यकारिणि समितिका सदस्यकाे बहुमत जता देखिन्छ त्यसलाई जसपाकाे आधिकारिकता दिएर पार्टीकाे नाम र चुनाव चिन्हसहित आउन समय दिनेछ।

त्यसका लागि आफ्नाे पक्षमा बहुमत देखाउन दुबै पक्ष कसरतमा जुटेका छन्। महन्थ ठाकुर पक्षले प्रलोभन देखाएर आफ्नाे पक्षका सदस्यलाई तान्न सक्ने भन्दै यादव पक्षले आफ्ना सदस्यलाई आइतबार बेलुकादेखि गाेदावारी रिसोर्टमा राखेको छ। उनीहरू रिसोर्टबाट आज सिधै निर्वाचन आयोगमा जाने तयारी रहेका छन्। 

त्यस्तै, निर्वाचन आयाेग जानुअघि ठाकुर पक्षकाे बैठक बस्ने तयारीमा रहेकाे स्राेतले जनाएकाे छ। 

याेसँगै लामाे समयदेखि रहेकाे जसपा विवाद टुंगाे लाग्ने देखिएकाे छ। जसपाकाे ठाकुर पक्ष पार्टीकाे निर्णय विपरित एमाले केपी शर्मा ओलीको सरकारमा सहभागी भएपछि विवाद झन् चुलिएकाे थियाे। 

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीबीच २०७७ वैशाख ११ गते एकीकरण भएर जसपा बनेको हो। २४ असार २०७४ मा निर्वाचन आयोगमा जसपा दर्ता भएको थियो।

प्रकाशित मिति: : 2021-07-26 08:21:00

प्रतिकृया दिनुहोस्