घरेलु महिला कामदारको ढुकढुकी सुनाउने 'रोमा'

शिलापत्र

सुरज सुवेदी

यो फिल्म सुरु हुँदा टायल बिछ्याइएको भुइँ देखिन्छ । ती टायल पुराना छन् । लामो समयदेखि पुछिएका जस्ता लाग्छन् । ती टायलहरूमाथि स्पेनिस अक्षरमा फिल्मको 'ओपनिङ क्रेडिट' सुरु हुन्छ । केही सेकेन्ड नबित्दै फिल्मले 'भुइँको कथा भन्नेवाला छु' भन्ने संकेत गरिसक्छ ।

सुन्दर फिल्मलाई आफूले के गर्दैछु भन्ने संकेत गर्न लामो समय लाग्दैन ।

मिडियम सटमा क्यामेरा अडिइरहेकै बेलाबेला पछाडि कसैले ढोका खाेलेको आवाज सुनिन्छ । चरा कराएको सुनिन्छ । ढोका बन्द हुन्छ । केही सामानहरू ठोक्किन्छन् । कोही हिँड्दै नजिक आउँछ । पाइलाहरू नजिकैबाट हिँडेर जान्छन् र पर पुग्छन् । धारा खुल्छ । पानी झरेको आवाज आउँछ । बिस्तारै त्यो आवाज ठूलाे हुन्छ । पानी छप्ल्याङछुप्लुङ गर्छ । कसैले भुइँमा ब्रसले केही घोटेको वा दलेकोजस्तो आवाज आउँछ । फेरि पानीको छप्ल्याङछुप्लुङ हुन्छ ।

तर, क्यामेरा वरपर के भइरहेको हो भनेर देखाउन हतार गर्दैन । ऊ केवल भुइँतिर एकोहोरो हेरिरहन्छ । वरपर भइरहेको घटनाहरू आवाजमा मात्र सुनिइरहन्छन् ।

ती आवाज सुन्दै टायलहरूलाई लगातार नियालिराख्दा म निर्देशकलाई सम्झिन्छु । उनी भुइँको सटमा हामीलाई अड्याएर पछाडि सुनिएका आवाजहरू मात्र किन सुनाइरहेका छन् ? के उनी त्यसभन्दा धेरै केही भन्न खोजिरहेका छन् ?

नाटक निर्देशक विमल सुवेदी सरले नेसनल स्कुल अफ ड्रामामा पढ्दै गर्दा आफूले बनाएको एउटा प्रस्तुतिको कथा सुनाउनुभएको सम्झिन्छु । उहाँहरूलाई आफ्नो 'घर' को थिममा प्रस्तुति दिन भनिएको थियो । सरले चुरा बजेको आवाजमार्फत प्रस्तुति बनाउनुभएको थियो । किनकि उहाँका लागि घर भनेको आमाको हातमा बज्ने चुरा थियो ।

अझै 'ओपनिङ क्रेडिट' का नामहरू आई नै रहेका छन् । क्यामेरा ब्ल्याक एन्ड ह्वाइट भुइँतिर हेरी नै रहेको छ । लगातार हेरिरहेपछि जुनसुकै चिजको पनि आफ्नो कल्पनाअनुसारको प्याटर्न देखिन थाल्छ । म ती भुइँमा मेरो कल्पनाअनुसारको प्याटर्न देख्न थाल्छु । अनि वरपर बजेको आवाजको आधारमा आफ्नो कल्पनाअनुसार पात्रहरू बनाउँछु । मलाई त्यो भुइँ कुनै अमूर्त चित्रजस्तो लाग्छ । म अझै गहिरिएर नियाल्न थाल्छु । ठीक त्यसै बेला धारा खुलेको आवाज आएतिरबाट कसैले फिँज भएको पानी भुइँमा खन्याउँछ । त्यो पानी मैले हेरिरहेको भुइँसम्म आउँछ । अनि एक छिन अडिएर फर्किन्छ ।

कसैले अमूर्त पेन्टिङमा पानी खन्याएजस्तो हुन्छ ।

प्रकाशित मिति: : 2021-07-25 06:40:00

प्रतिकृया दिनुहोस्