अचेल किन देश देश जस्तो छैन?
अदालतकै कारागारमा
किन बन्दी छ न्याय?
खाडी र कतारका मरुभूमिमा
मुटुको रगत रित्याउनेहरुले पठाएको
रेमिट्यान्सले चल्दैछ, देशको ढुकढुकी
तर, तिनीहरू नै बाकसमा बन्द भएर आउँदा
किन रसाउँदैन यो देशका शासकहरुको आँखा?
कहिले सम्म निर्मलाहरुले बलात्कृत भइरहनु पर्ने हो
अनि अपराधीहरु खुलेआम फरार?
मंगलग्रहमा मानवबस्ती बसाउने योजना बुनिरहेछ विज्ञान
तर,
सुरक्षा स्वतन्त्रता र स्वाभिमानकालागि
मंगलबार विद्यालयबाट फर्किरहेका
अझै कति भगीरथीहरुले चुकाउनुपर्ने हो जिन्दगीको मूल्य?
अखबारका पानाहरु कहिलेसम्म रंगिरहने हुन्
सुकोमल बालिका बलात्कार र हत्याका खुनी रंगहरुले?
यस्तो लाग्छ अचेल वायुमण्डलमा
हावा होइन सोला हान्ने प्रश्नहरु बहन्छन्,
दूरदराजका गाउँहरुलाई कहिलेसम्म लाग्ने हो सिंहदरबार र बालुवाटार अगम्य टापू?
छोरीहरूले वास्तविक मान्छे भएर बाँच्न
अझै कति समय लाग्छ?
सगरमाथा, बुद्ध र लालीगुँरासको झ्यालखानाबाट
कहिले मुक्त हुन्छ यो देशको राष्ट्रियता
र सुन्छ कर्णालीका भोका पेटहरुको सारंगी?
कहिलेसम्म लेखिरहुनुपर्ने हो
असमानता गरिबी,अन्याय र बलात्कारविरुद्धको मात्रै कविताहरु?
जिन्दगीका आवश्यकताहरुकालागि
सार्वभौमसत्ता सम्पन्न नागरिकहरुले
कहिलेसम्म गरिरहनुपर्ने आफ्नै लिलामी?
यतिखेर बिग्रिएको यो देशको घण्टाघरको समय
प्रश्नै प्रश्नहरूले रन्थनिएको छ, यो समयको माथिंगल
यिनै प्रश्नहरुको डढेलोमा हुर्हुरी जलिरहेछ देश
र हामी भोगिरहेछौं
खरानीको लागि आफ्नै घरमा आगो झोस्ने मूर्खको नियति
आखिर कहिलेसम्म ?