ओलीको आममाफी, च्यासलबाटै नेपालको वाहवाही !

बाह्रखरी

काठमाडौं

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बिहीबार र शुक्रबार छुट्टाछुट्टै कार्यक्रम भए ।

बिहीबार नेकपा एमालेको आयोजनामा भएको कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीसहित  तीन वक्ताले पुष्पलाललाई सम्झिए । 

कार्यक्रममा ओली पार्टीका वरिष्ठ नेता नेता माधवकुमार नेपाल समूहप्रति एकाएक लचिलो देखिए । बुधबारमात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदलाई कारबाहीका लागि स्पष्टीकरण पत्र पठाएका ओलीले पार्टी एकताका लागि एकताका लागि आह्वान गर्दै आममाफी दिने घोषणा गरे । 

ओलीले पुष्पलाललाई सम्झिएर भन्दै भनेका थिए– एम्नेस्टी इज ग्रान्टेड ।

सोही स्थानमा शुक्रबार पुुष्पलाल मित्रता केन्द्रले कार्यक्रमको आयोजना गर्यो । कार्यक्रममा विभिन्न कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू एकै मञ्चमा देखिए । तर, ओलीलाई कार्यक्रममा निम्तो नै थिएन ।

कार्यक्रममा नेता नेपालले ओलीको आममाफीलाई अस्वीकार गरेका छन् । उनले राजा–महाराजको शैलीमा आफूहरूलाई आममाफी दिने आदेश भएको भन्दै असन्तुष्टि प्रकट गरे । 

उनले ओलीको अभिव्यक्तिको व्यङ्ग्य गर्दैै ‘वाहा वाही’ समेत गरेका छन् ।

“हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो । माधव नेपाललगायत बाँकी सदस्यहरूमाथि गरिएको स्पष्टीकरणलाई आममाफी दिइन्छ । एम्नेस्टी इज ग्रान्टेड । महाराजधिराजको आदेश,” उनले कटाक्ष गर्दै भने, “वाहा ! वाहा ! हामीलाई आममाफी मिलेछ । हामी खुसी हुनुपर्ने भो । हामी नाँचुपर्ने भो । यही हो कम्युनिस्ट प्रवृत्ति ? यसलाई कम्युनिस्ट पद्धति भनिन्छ ?” 

प्रकाशित मिति: : 2021-07-23 21:01:00

प्रतिकृया दिनुहोस्