आलम आतंक : पीडितलाई न्याय नपाउने डर

आलमलाई छुटाउन रौतहट कांग्रेसको दौडधुप

१२ वर्षदेखि न्यायको लडाइँ लडिरहेका रौतहट यमुना गाउँपालिकाका ८१ वर्षीय श्रीनारायण सिंहलाई ‘न्याय नपाउँदै’ मरिने हो कि भन्ने चिन्ता बढेको छ । सिंह राजपुर विस्फोटमा मारिएका पिन्टु भनिने त्रिलोकप्रताप सिंहका बुबा हुन् ।

बम विस्फोटको घटना न्यायिक प्रक्रियामा प्रवेश गरेको दुई वर्ष पुग्न लागेको छ । घटनाका मुख्य अभियुक्त तथा निलम्बित सांसद मोहम्मद अफ्ताब आलम पुर्पक्षका लागि जेलमा छन् । तर, पीडित परिवार न्याय पाउनेमा अझै विश्वस्त छैनन् । बरु, पछिल्लो बदलिँदो सत्तासमीकरणले पीडित परिवारलाई भयभीत बनाएको छ । 

१९ फागुनमा रौतहटको गढीमाई नगरपालिका– ६ सिगारमनमा विष्णु महायज्ञ उद्घाटनमा ‘आलमलाई जेलमुक्त गराउँछु’ भन्ने शेरबहादुर देउवा २९ असारमा प्रधानमन्त्री बने । देउवाको पाँच महिनाअगाडिको त्यही अभिव्यक्तिले पीडित अहिले भयभीत छन् ।

‘१२ वर्षसम्म केही भएन । धेरै संघर्षपछि आलम पक्राउ पर्‍यो । त्यसपछि अलिअलि भए पनि न्याय पाउने आशा पलाएको थियो । तर, अहिले मलाई फेरि अँध्यारो भएजस्तो लागेको छ,’ श्रीनारायणले भने, ‘आलमका मान्छेहरू अब ऊ जेलमुक्त हुन्छ भन्दै छन् । न्याय पाउने आस मर्दैै गएको छ । न्याय अब प्रधानमन्त्रीको खल्तीमा छ ।’

श्रीनारायणकै १२ वर्षको अनवरत लडाइँपछि राजपुर बम विस्फोट घटनाले न्यायिक प्रवेशमा औपचारिकता पाएको थियो । घटनाका मुख्य योजनाकार आलम पक्राउ परेका थिए । पुर्पक्षका लागि आलम जेल बसेको २२ महिना बितिसकेको छ । तर, श्रीनारायणलाई देउवा प्रधानमन्त्री बनेपछि मनमा शंका जागेको छ । 

प्रकाशित मिति: : 2021-07-23 10:48:00

प्रतिकृया दिनुहोस्