जापान पठाइदिने भन्दै ४० लाख ठगी, चार पक्राउ

Symbolic photo
Symbolic photo

नेपाल प्रहरीले जापान पठाइदिने भन्दै विभिन्न व्यक्तिसँग रु ३९ लाख ६८ हजार ९९६ ठगी गर्ने चार जनालाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखा नयाँ बानेश्वरको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न व्यक्तिसँग ठगी गर्ने मकवानपुरका ३७ वर्षीय शुभद्रा परियार, ईलामका ३३ वर्षीय पुजा राई, सिन्धुपाल्चोकका ३३ वर्षीय राजेन्द्र ढकाल र भक्तपुरका २१ वर्षीय दीपिका केसीलाई आज काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

सामाजिक सञ्जाल फेसबुकमा ‘टानाकायोका’ को नामबाट फेसबुकको प्रयोग गरी आफू जापानको अध्यागमनमा काम गर्ने नागरिक हो भन्दै ‘वर्किङ भिसा’ प्रक्रियाका लागि रकम पठाउनुपर्छ भनी ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

उनीहरुले पीडितलाई पैसा आफ्नो खातामा राख्न लगाएर जापान नपठाइ ठगी गरेको प्रहरीको भनाइ छ। पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाएको उक्त महाशाखाले जनाएको छ।

क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौँको नयाँ बजारमा क्रेनको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

काठमाडौँ महानगरपालिका–२६ मनाङगेट अगाडि सडकमा प्रदेश–३–०१–००३ क ४९९४ नम्बरको क्रेनले प्रदेश–२–०१९ प ९९५९ नम्बरमा सवार मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक टोखा नगरपालिका–४ बस्ने  २० वर्षीय पुजन नगर्चीको आइतबार राति मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते नगर्चीको उपचारका क्रममा पिपल्स अस्पताल नयाँबजारमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीले दुर्घटनामा सङ्लग्न क्रेनका चालकलाई नियन्त्रणमा लिएको छ। 

प्रकाशित मिति: : 2021-07-19 21:26:00

प्रतिकृया दिनुहोस्