प्रधानमन्त्री शेरबहादुर देउवाले अदालतको आदेशपछि प्रतिनिधिसभा पुनर्स्थापना भएको पहिलो दिनको दोस्रो बैठकमै विश्वासको मत पाए । संसदमा रहेका झण्डै दुई तिहाइ सांसदले उनलाई समर्थन जनाए । संसदमा जम्मा ६३ सिट भएको कांग्रेसका लागि यो कसरी सम्भव भयो ? स्वाभाविकै छ– एमालेको माधव नेपाल खेमा मात्र होइन, केपी ओली समूहका आठ जना सांसदले पनि समर्थन गरे ।
अन्तिम समयमा जनता समाजवादी पार्टीको यसअघि केपी शर्मा ओलीलाई समर्थन गरेको ठाकुर–महतो समूहले पनि समर्थन गर्यो । देउवालाई बहुमत जुटाउनु कुनै ठूलो कुरो भएन र होइन पनि । किनभने समय अनुकूल बन्दै थियो अनि देउवा संसदीय जोडघटाउ खेल राम्रैसँग बुझेका पुराना नेता हुन् ।
पाँचपटक अल्पमतको सरकारको नेतृत्व गरेका देउवाका लागि सत्तामा जानु ठूलो कुरो हुँदै होइन । सत्ताबाट सम्मानजनक बहिर्गमन भने ठूलो कुरा हो । उनको कार्यकालको सम्झनलायक काम ठूलो कुरा हो । उनले मुलुक र जनताको आर्थिक उन्नतिमा दिएको योगदान ठूलो कुरा हो । त्यसैले देउवा कुशल संगठक हुन् तर व्यवस्थापक होइनन् । उनी मानिसहरू जुटाउन सक्छन् तर तिनबाट उचित प्रतिफल निकाल्न सक्दैनन् । त्यो केही आफ्नै कारणले केही भने गठबन्धनका कारणले ।
उनी प्रचारक पनि होइनन् । उनी आफ्नो कुरा प्रष्ट राख्न सक्दैनन् । ओली थोरै काम गरेर धेरै प्रचार गर्न सक्ने मानिस हुन् भने देउवा भएको सानोतिनो काम पनि जनतालाई भन्न नसक्ने नेता हुन् । कतिपयमा उनले भन्न नसक्दा ठूलो दोषको भारी पनि बोक्नुपरेको छ ।