नैतिकताको गह्रौँ भारी र बीपी

शिलापत्र

काठमाडौं

‘... आखिर सुशीला र म अरू दश वर्षभन्दा बढी बाँच्ने आशा गर्न सक्दैनौँ । मुनु (शशाङ्क) र चेतनको पढाइ पूरा हुन पाँच वर्ष लाग्नेछ । जहाँसम्म हाम्रो कुरा छ मनीषा र प्रकाशको जिम्मेदारी पनि अरू तीन वर्षभन्दा बढी लम्बिनु हुँदैन । श्रीहर्षलाई केही पैसा दिनुपर्छ ताकि कुनै काम थाल्न उसलाई मानसिक रूपले सजिलो होस् । हामीलाई जम्माजम्मी दुई लाख रुपैयाँ चाहिएला । विराटनगरमा मेरो अंशमा पर्ने सम्पत्तिबाट योभन्दा बढी नै पैसा आउला । सुशीला, प्रकाश वा श्रीहर्ष व्यावहारिक भइदिए भने उनीहरूलाई पैसाको दुःख हुने थिएन ।’ (फेरि सुन्दरीजल–पृष्ठ १४, बीपी कोइराला)

आफ्नो कथा, जेल जर्नल, आत्मवृत्तान्त र फेरि सुन्दरीजल चार कृति बीपीका आफ्नै जीवनका घटनाहरूमा आधारित लेखन हुन् । आफ्नो कथादेखि फेरि सुन्दरीजलसम्म आइपुग्दा उनले आफ्नाबारेमा धेरै नै प्रकाश पारिसकेको देखिन्छ । यी पुस्तक पढिसक्दा म बीपीलाई नजिकबाट चिन्छुजस्तो लाग्न थाल्छ । साहित्यमा सबैभन्दा लोकप्रिय विधा त्यसैले पनि आत्मकथालाई मानिएको होला । आफूसँग मिल्न सक्ने दुःख-सुखका परिबन्द र घटनाहरूले गर्दा आत्मकथाको पात्र आफ्नै निकटको व्यक्ति हो झैँ लाग्छ ।

मैले सबैभन्दा पहिले पढेको आत्मजीवनी थियो रुसोको ‘कन्फेसन्स’ । वास्तवमा भन्ने हो भने मैले आधाबाटो लेख्ने प्रेरणा पनि त्यसै पुस्तकबाट पाएको हुँ । २०३५ सालमा पढेको त्यो पुस्तकले पारेको छाप आजसम्म आलोको आलो नै छ । बीपीका यी कृतिहरू तिनको प्रकाशन क्रमअनुसार नै पढेको थिएँ । पहिलो किताब ‘आफ्नो कथा’मा बाल्यकालीन संस्मरणहरू छन् । केही घटनाहरू आमबालकहरूकै जीवनशैलीसँग मिलेजस्तो लागे पनि ती एकदम नै फरक देखिन्छन् । बालक भएर पनि बालकजस्तो हुन नपाएको बाध्यता साह्रै पीडादायी लाग्दछ । हुन त बालककालको संस्मरणलाई बुद्धि पसेको दिमागले लेखेकाले होला कतिपय ठाउँमा पात्रको उमेरअनुसारका अस्वाभाविक विश्लेषणहरू पनि छन् ।

प्रकाशित मिति: : 2021-07-18 12:00:00

प्रतिकृया दिनुहोस्