विश्व कम्युनिस्ट आन्दोलनमा माक्र्सवादको विकास भए देखिन दक्षिणपन्थी अवसरवाद अर्थात् संशोधनवादविरुद्ध स्वयं माक्र्स, एंगेल्स, लेनिन र स्टालिनको नेतृत्वमा भीषण संघर्ष भयो। यसकै परिणामस्वरूप विश्वभर माक्र्सवाद फैलिन सक्यो र सोभीयत संघ, चीन, क्युबा हँुदै विभिन्न देशमा समाजवादी क्रान्ति सम्पन्न भए।
माक्र्सवादमा दक्षिणपन्थी अवसरवाद अर्थात् संशोधनवाद एउटा धारा हो, जसले माक्र्सवादको साइनबोर्ड राखेर भौतिकवादी द्वन्द्ववादको आधारलाई फेर्न प्रयत्न गर्छ। यसले सर्वहारा वर्गको अधिनायकत्व, वर्ग संघर्ष र समाजवादी क्रान्तिलाई अस्वीकार गर्छ र यसले शान्तिपूर्ण आन्दोलन, शान्तिपूर्ण विकास, सहअस्तित्व र क्रमिक सुधारको वकालत गर्छ।
माक्र्स र एंगेल्सले माक्र्सवादका प्रस्थापना प्रतिपादन गरे। कम्युनिस्ट पार्टीको घोषणापत्र, द्वन्द्वात्मक ऐतिहासिक भौतिकवाद, राजनीतिक अर्थशास्त्र, पुँजीजस्ता कृतिहरूको सार्वजनिक भएलगत्तै देखि नै संशोधनवादीहरूले हमला सुरुवात गरे। १९औं शताब्दीको अन्तिम देखिन संशोधनवादको जन्म भयो। जर्मन सामाजिक–जनवादी एडुआर्ड बनर्सटीनले पहिलोपटक माक्र्सवाद अपर्याप्त भएको, समय सुहाउँदो नभएकाले यसमा संशोधन र नवीकरण गर्नुपर्ने भन्दै आवाज उठाएका थिए। त्यसपछि उनका अनुयायीहरू बन्सटिन र काट्रस्की, अस्ट्रियामा एडलर, बाउएर, फ्रान्समा दक्षिणपन्थी समाजवादीहरू संशोधनवादको पक्षमा उभिए। यसरी विकास भएको संशोधनवाद विभिन्न देशहरूको कम्युनिस्ट आन्दोलनमा बेलाबेलामा देखा पर्दै आएको छ। र कतिपय देशका कम्युनिस्ट पार्टीको नेतृत्व नै कब्जा गरेर कम्युनिस्ट आन्दोलनलाई छिन्नभिन्न पनि बनाएको छ।