‘अझै पनि महामारी लम्बिने हो भने थिएटर बन्द गर्नुको विकल्प छैन,’ रंगकर्मी एवम् नाट्य निर्देशक घिमिरे युवराज निराश सुनिए।
कोरोनाका कारण अघिल्लो वर्षको लकडाउनमा रंगकर्मीहरू घरभित्रै थुनिए। नौ महिनापछि अन्य क्षेत्र विस्तारै खुल्न थाले। तर सिनेमा हल र रंगमञ्चमा भने सरकारको अंकुश कायमै रह्यो।
विकल्पै नभएपछि रंगकर्मीहरू आन्दोलन गर्न सडकमै ओर्लिन बाध्य भए। तर, केही महिनापछि नै महामारीको दोस्रो लहर सुरु भयो र पुनः लकडाउन गरियो। यो लकडाउनले थिएटर र रंगकर्ममा सपना देखेकाहरूलाई ठूलै आघात पुर्याएको छ।
लकडाउनकै कारण बत्तिसपुतलीस्थित शिल्पी थिएटर अहिले ३० लाख ऋणमा परेको छ।
‘भाडा नतिरेकै ६ महिनाभन्दा बढी भयो। पुरानो बचत पनि सकिन लाग्यो। चल्न गाह्रो भयो,’ निर्देशक घिमिरे युवराज भन्छन्।
अघिल्लो लकडाउनमा पनि काठमाडौँमा बस्न कठिन भएपछि शिल्पीका ‘फुल टाइमर’ कलाकार गाउँ गएका थिए। पछि लकडाउन खुले पनि केही त उतै बसे।
‘अहिले जति हुनुहुन्छ, उहाँहरूलाई टिकाउन पनि निकै सकस परेको छ,’ उनले दुखेसो पोखे।