जनता इतिहासका निर्माता हुन् । एककाँटी सलाई ज्वालाको बीउ रोप्छ । आगोको सानो फिलिङ्गोले सारा बस्ती उजाड पार्छ । जब ज्वालामुखी फुट्छ, चट्टानहरू पग्लन्छन् । इन्द्रासन डग्मगाउँछ । प्रलयको उद्भव युगौंदेखि धर्तीको गर्भमा दमित असन्तोष हो ।’
उसको यही भनाइ मार्चपास गरिरहेको थियो मभित्र । यसैबीच मेरा आँखा प्रहरी चौकीको भित्तामा लेखिएको ‘प्रहरी मेरो साथी’ वाक्यांशमाथि पर्छन् । अनायास विचार प्रवाहमा राजा महेन्द्र मल्ल र श्री-३ पद्मशमशेर प्रकट हुन पुगे ।
महेन्द्र मल्ल हरेक दिन धुरीमा चढी प्रजाका घरबाट धूवाँ आए नआएको हेर्थे भन्ने भनाइ छ । सत्तासीन छँदा श्री-३ पद्मशमशेरले पनि ‘म राष्ट्रको नोकर हुँ’ भनी दावा गरेका थिए रे । त्यसो त सत्ताको मुलायम कुर्सीमा बसी पपुलिस्ट कुरा गर्नेहरूको श्रृङ्खला यतिमै टुङ्गिंदैन । तर दावा गर्नु एउटा कुरा, यथार्थमै जनताको दुःख-सुखमा साथसाथ रहनु अर्को कुरा हो ।
म फेरि ‘ब्याक टु मंगलमान’ हुँदै प्रारम्भमा पुग्छु- ‘एककाँटी सलाई ज्वालाको बीउ रोप्छ । आगोको सानो फिलिङ्गोले सारा बस्ती उजाड पार्छ । प्रलयको उद्भव युगौंदेखि धर्तीको गर्भमा दमित असन्तोष हो ।’
मलाई उसको त्यस अभिव्यक्तिले निरन्तर पछ्याइरहेकै थिए ।
कुरा २०२७/२८ सालतिरको हो । चूक पोखेजस्तो कालो रात । औंसीको सीमान्त विन्दु भेट्ने रहरमा ओइलाउँदै गएको जून । रूखका पातहरू फड्कार्दै बहेको थियो तातो हावा । सुकेको खरको राँको बाल्दै बीस-बाइसको पठ्ठा जवान बास माग्न आइपुग्छ ।
रौं-रौंमा ‘अतिथि देवो भव’को संस्कार पालेको मैले विना हिच्किचाहट उसको स्वागत गरें । उसले पिठ्युँको झोला निकाली पिंढीमा बिसायो । ऊ थाकेको मात्र होइन, गर्मीले पाकेको पनि थियो । त्यस दिन उसले लगातार दश कोस लामो यात्रा गरेको रहेछ ।
उसले रूद्रघण्टी नचाउँदै दुई अङ्खोरा पानी पियो अनि रूमाल झिकेर पसिना पुछ्यो । रूमाल निकाल्दा झोलाभित्रको रातो किताब फुत्त बाहिर निस्कियो । मेरा आँखा पुस्तकको कभरमा अङ्कित दाह्रीवाल मनुष्यको तस्वीरमाथि परे । दाह्रीवाल हाम्रा आदिम ऋषि महर्षि जस्तै देखिन्थे । निमेषभरका लागि पुस्तकको कभरमा अङ्कित दाह्रीवाल र मेरा आँखा जुधे । मैले फोटोतर्फ नजर लाएको देखेर आगन्तुक बोल्न थाल्यो- ‘यी दाह्रीवाल वृद्ध हाम्रा आदर्श हुन् । एक दिन हामी यिनको दर्शनमा आधारित समतामूलक समाज निर्माण गरेरै छोड्नेछौं ।’