अफगानिस्तानको दोहोरो झडपमा परी वरिष्ठ भारतीय फोटो पत्रकारको मृत्यु

Danish Siddiqui (Twitter)

अफगानिस्तानको हिंसाग्रस्त क्षेत्रमा समाचार सङ्कलनका लागि  गएका एक भारतीय फोटो पत्रकारको सरकारी सुरक्षा फौज र तालिबान सशस्त्र विद्रोहीको झडप परी मृत्यु भएको छ।

बेलायती समाचार एजेन्सी रोयटर्ससँग आबद्ध भारतीयका लागि प्रमुख–फोटो पत्रकार दानिस सिद्दीकीको मृत्यु भएको भारतका लागि अफगानी राजदूत फरिद ममुन्डजे पुष्टि गरेका छन्।

फोटोपत्रकार दानिस कान्धार प्रान्तमा अफगानी सुरक्षा फौजसँगै पछिल्लो अवस्थाबारे रिपोर्टिङ गरिरहेका थिए।

समाचार सङ्कलन तथा फोटो खिच्ने क्रममा तीन दिनअघि जुलाई १३ मा समेत उनीहरुमाथि तालिवानले आक्रमण गरेको थियो। तर, त्यस बेला पत्रकार दानिस मृत्युको मुखबाट संयोगले जोगिए पनि यसपल्ट भने ज्यान गुमाएका छन्।

पुलित्जर पुरस्कार बिजेता भारतीय पत्रकार दानिस तालिबान प्रभावित क्षेत्रमा सरकारी सुरक्षा फौजको सहयोगमा रिपोर्टिङ गरिरहेका थिए। उनको मृत्यु कान्धार प्रान्तको स्पिन बोल्डक जिल्लामा भएको अफगानी समाचार च्यानल टोलोले जनाएको छ। उनले गत साता आफूमाथि पटकपटक रकेट आक्रमण भएको बताएका थिए। 

समाचार तथा फोटो सङ्कलनका क्रममा आफूले गोली नै गोलीको सामना गर्नुपरेको उनको अभनुभव थियो। कान्धार प्रान्तको दक्षिणी भेगमा अफगान सुरक्षा फौज र तालिवानबीच लडाइँ जारी रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

उग्रवादी तालिवानले शहर आसपासका मुख्य भूभागमा कब्जा जमाइसकेको छ। कन्धरको वर्तमान अवस्था बिग्रेको र तालिवानी अड्डा बनिसकेको उसले दाबी गरेको छ।

कन्धारमा बस्नसक्ने अवस्था नभएपछि अफगानस्थित भारतीय वाणिज्य दूतावासका कम्तिमा ५० कूटनैतिज्ञहरूलाई सारिएको थियो।

प्रकाशित मिति: : 2021-07-16 15:12:00

प्रतिकृया दिनुहोस्