हेमराज भट्ट
राजनीतिमा कोही पनि सधैँ कसैको स्थायी शत्रु वा मित्र हुँदैन भन्ने वाक्यांशलाई पुनः एकपटक नेपाली राजनीतिककर्मीहरूले अनुसरण गरेका छन्। सत्ता र शक्तिलाई साध्य बनाउन प्रयोग गरिएको भर्याङको औचित्य समाप्त नै भएसरि थालिएको उपहासपूर्ण वाणी र कटुतापूर्ण आलोचना नै सत्ता स्थायित्वको निम्ति बाधाका पर्खाल बने। रिसको वेगमा दौडिएको एक अर्धज्ञानी अन्ततोगत्वा सोही पर्खालमा ठोक्किएर बर्ल्यांग भुइँमा ढल्यो।
यति मात्र भएन, पद, शान, मान र सुख सयल प्राप्तिका लागि सारथि बनाइएका सहयात्री साथीहरूको तेजोबध सुरु गरियो। जनताका मुख्य समस्याहरू र समय सापेक्ष विकासका मुद्दाहरूलाई ओझेलमा पारियो। एउटा हास्यास्पद दम्भको शासकको पो जन्म भयो। आफूलाई लागेको र आफ्नो हितमा देखिएको विषयलाई लोकतन्त्र र विधिको दुहाइ दिन थालियो। समृद्ध नेपाल, सुखी नेपाली भन्ने लोकप्रिय नारा नागरिकका परिवार, घर, टोलटोल र बस्तिबस्तिमा आउनुपर्नेमा सहर बजारको सडक किनारामा गाडिएका बिजुलीका खम्बाहरूमा झुण्ड्याइन थाल्यो। न त्यसलाई जनताले स्पर्श गर्न, सके न त अनुभूति नै गर्न पाए।
नेपाली जनताको सात दशक लामो विभिन्न आन्दोलन र पटक-पटकका संघर्षबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्दै सदियौँदेखिको आर्थिक विकास र समृद्धिलाई चुम्ने नेपाल र नेपाली जनताको चाहनामा तुषारापात भयो। दलीय लडाइँ होइन, हिजोका राजा महाराजाहरू र श्री ३ हरूको दरबारमा हुने गरेको भाइभारदारबीचको कलह र शक्ति संघर्षलाई बिर्साउने गरी कम्युनिस्ट पार्टीभित्र किचलो सुरु गरियो। चुनावी गठबन्धनका लागि एक ठाउँमा आएका दुई कम्युनिस्ट पार्टी मात्र अलग भएनन्, त्यसमा सम्मिलित सबै नेता एकएक गरी आफैँ चिराचिरा हुँदै अलग्गिए। नेतृत्वले आफ्नो विवेक र विद्वता प्रयोग गरी सम्हाल्नेतिर खासै अग्रसरता र उत्सुकता देखाएन। उल्टै बरु भष्माशुर शैलीमा अगाडि दौडिरह्यो।