केटी भएकैले बिहान सबेरै बाटोमा एक्लै हिँड्न मैले डराउनुपर्ने ?

शिलापत्र

जा परियार

असार १९ गते शनिबार बिहान, सधैँझैँ ४ बजेर ३० मिनेटमा ठ्याक्कै ब्युँझिएँ। बिहान ५ः१९ देखि चितवनको सिनर्जी एफएममा ‘सिनर्जी डायरी’ पढ्ने ड्युटी छ। सबेरै रेडियो पुग्नुपर्ने भएकाले हरेक बिहान छिटो उठ्छु।

त्यो बिहान पनि सधैँझैँ ड्युटी जान निस्किएँ। केही दिनयतादेखि सक्रिय मनसुनले अरु बेलाजस्तो उज्यालो थिएन त्यो बिहान। झमझम पानी परिरहेको थियो, उज्यालिनुपर्ने बिहानी झमक्क साँझ परेझैँं थियो।

हुन त बसाइ र रेडियो धेरै टाढा छैन। केही मिनेटमा म अफिस पुग्छु। तर, लामो बाटो भएकैले जोखिम हुने त कहाँ रहेछ र ! जाग्दा ज्युँदा मानिसमा अपराधको मनस्थिति बढ्दै गएपछि नै त रहेछ समाजले कमजोर करार गरेका व्यक्तिहरू जोखिममा पर्दै जाने।

अफिस जाँदै थिएँ, भरतपुर– १०, कामनाचोकमा एक जना बुबाले सुरक्षाको चेतावनी दिनुभयो, ‘नानी सबेरै कता हिँड्यौ ? एक्लै नहिँड है। जे पनि हुन सक्छ। सुजिता भण्डारीको घटना त था’नै होला ?’

टक्क अडिएँ। उहाँ मेरो बुबाझैँँ पाँच दशक उमेर हाराहारीको देखिनुहुन्थ्यो।  त्यो चेतावनीपछि झस्किएँ। हो त झैँँ लाग्यो। निस्फिक्री घरबाट निस्किएका पाइला एकाएक गह्रौँझैँं लाग्न थाल्यो। गह्रौँ पाइला, अदृश्य त्रासबाट गाँजिरहेको मनस्थिति बोकेर अफिस पुगेँ।

समाचार कक्षमा छिरेँ। समाचारको सिट मिलाउँदै थिएँ, पहिलो हेडलाइन सुजिता भण्डारीकै बन्यो। देशका विभिन्न सञ्चारमाध्यममा फरक-फरक शीर्षकमा सुजिताको समाचार बोलिरहेको थियो। म भने हेडलाइन भन्दै गर्दा आफैँसँग प्रश्न गरिरहेकी थिएँ, ‘कुनै दिन यसैगरी मेरै समाचार मूल हेडलाइन बन्योे भने !’

प्रकाशित मिति: : 2021-07-15 09:05:00

प्रतिकृया दिनुहोस्