प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जनादेशले नभई अदालतले जारी गरेको परमादेशका कारण प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन्।
प्रधानमन्त्री पद हस्तान्तरण गर्नुअघि राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले जनताको जनादेश आफ्नो पक्षमा भए पनि अदालत देउवाको पक्षमा गएको बताए। ‘यो नै अन्तिम विदाइ पनि होइन। यसअघि पनि मैले प्रधानमन्त्री छाड्नुपरेको थियो तर जनताको जनादेशले नभई अदालतको परमादेशका कारणले सरकारको जिम्मेवारीबाट बिदा लिँदैछु’ उनले भने।
ओलीले सरकारबाट विदा हुन परे पनि राम्रो काम गरेका कारण चिन्ता नभएको दाबी गरे। उनले भने, ‘मेरो नेतृत्वमा देशले चौतर्फी ढंगले जनताले विकास र राहत महसुश गरेका छन्’ उनले भने, ‘त्यसैले मलाई चिन्ता छैन।’